काठमाडौँ, २६ जेठ २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आजबाट एनआरएनए फेमेली कार्डको औपचारिक सुरुवात गरिएको छ ।

गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी एनआरएनए फेमेली कार्डको सुरुवात गरिएको हो ।

उक्त कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । यद्यपी विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू हुने जानकारी दिइएको छ ।

संघले सदस्यलाई सदस्यता बापत केही सुविधा पनि प्राप्त होस् भन्ने हेतुले विभिन्न व्यावसायिक प्रतिष्ठानहरुसँग सहमति गरी ति प्रतिष्ठानले आपूर्ती गर्ने सेवा वा वस्तुमा छुट वा सहुलियत दिने प्रणालीको विकास गरेको हो  । जस अन्तर्गत ती प्रतिष्ठानले संघका कार्ड धारकहरुलाई आफ्ना वस्तु र सेवामा निश्चित मात्राको सहुलियत दिनेछन् ।

कार्डको म्याद २ वर्षको हुनेछ र त्यसपछि कार्ड पुनः नवीकरण गराउनुपर्नेछ । उक्त कार्ड पाएपछि संघमा पञ्जीकृत सदस्य र उनीहरुका परिवारका सदस्यले नेपालभित्र र बाहिर संघसँग सहमति गरेका विभिन्न, अस्पताल, विविध स्वास्थ्य संस्थाहरु, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय तथा कलेज, होटेल, रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल, टुर एण्ड टिकट एजेन्सी, सूचना तथा सञ्चार सम्बन्धि क्षेत्र, बैकिंङ क्षेत्र, बीमा, फिटनेश सेन्टर लगायतका उद्योग प्रतिष्ठानबाट प्राप्त गर्नेछन् ।

आजको कार्यक्रममा सम्बोधन गर्दै संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपालीलाई संघको सदस्य बन्न थप प्रोत्साहन होस भनी यो व्यवस्थाको सुरुवात गरिएको बताउनुभयो । गैरआवासीय नेपालीहरुको सञ्जाललाई थप बृहत् बनाई उनीहरुले सदस्यता बापत केही प्रभावकारी सेवा सुविधा पाउन सकुन भनि यो कार्डको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

त्यस्तै, संघका उपाध्यक्ष सपिला राज भण्डारीले लामो समयदेखिको प्रयासले सफलता हासिल गरेको बताउनु भयो । आगामी अक्टोबरसम्म कम्तीमा पनि ७ सय विभिन्न स्वास्थ्य, शिक्षा, बैकिंङ, बीमा लगायतका क्षेत्रका प्रतिष्ठानहरुसँग सहमति गरी कार्ड मार्फत विशेष सहुलियतको व्यवस्था गरिने उपाध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सपिला राज भण्डारी, मकाउबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य मुकेश बरुवाल, राष्ट्रिय समन्वय परिषद् ओमानका उपाध्यक्ष केशवलाल श्रेष्ठ र सचिव रविन सिल्पकार, एनआरएनए एकेडेमीका संयोजक डा प्रमोद ढकाल सहित विभिन्न सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्