अस्ट्रेलिया, ११ जेठ २०७६ । गिरिजा प्रसाद कोइरालाले राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै जीपी कोइराला फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा पु¥याउने पहल थालिएको छ ।
१० बर्षे माओवादी सशस्त्र युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउँदै नेपाललाई शान्तिपूर्ण राजनीतिक बाटोमा हिंडाउने मुख्य नायक गिरिजा प्रसादको योगदानलाई विदेशमा पनि फैलाउने उद्देश्यअनुरुप अस्ट्रेलियामा जीपी फाउण्डेसनले सक्रियता बढाएको हो । जीपी फाउण्डेसन अस्ट्रेलियाका संयोजक रमेश छतकुलीले फाउण्डेसनलाई चाँडै नै अस्ट्रेलियाव्यापी बनाईने बताएका छन् । हालसालै अस्ट्रेलियाको मेलवर्नमा जीपी फाउण्डेसनले आयोजना गरेको अन्तरक्रियामा संयोजक छतकुलीले जीपी फाउण्डेसनलाई अस्ट्रेलियाका सबै स्टेटमा सक्रिय बनाउन लागिपरेको बताएका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल प्रमुख अतिथि भएको सो अन्तरक्रियामा अस्ट्रेलिया जनसम्पर्क समितिका अध्यक्षहरु कृष्णि गिरी, सन्तोष सिटौला, अस्ट्रेलियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योञ्जन लगायत को पनि उपस्थिति थियो । अन्तरक्रियामा प्रमुख अतिथि डा। रिजालले गिरिजा प्रसाद कोइरालाको विचारलाई राष्ट्रिय/अन्तर्राष्ट्रियरुपमा फैलाउन फाउण्डेसनले गर्दै आएका गतिविधिहरुको सराहना गरेका थिए ।