अमेरिका ,१२ फागुन २०७५ । अमेरिकाको कन्टकी राज्यमा गोली हानेर एक नेपालीको हत्या गरिएको छ। बन्दुकधारीले चलाएको गोली लागेर अर्का नेपाली गम्भीर घाइते भएका छन्।
केन्टकी राज्यस्थित एलिजावेद टाउनमा टी मार्ट सञ्चालक लमजुङ घर भएका सुवास घलेको हत्या भएको हो। गत बिहीबार राति साढे ११ बजेतिर उक्त मार्टको स्टोरमै प्रवेश गरी बन्दुकधारीले गोली हानेका थिए।
गोली लागेर अर्का नेपाली प्रयास बानियाँ पनि गम्भीर घाइते भएका छन्। अहिले उनको उपचार स्थानीय लुवेल अस्पतालमा भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले घटनाको वास्तविक जानकारी नदिए पनि ती बन्दुकधारीसँग घलेको विवाद भएको बुझिएको छ। ती बन्दुकधारी व्यक्तिले आफ्नी प्रेमिकालाई समेत गोली हानेर हत्या गरेको बताइएको छ।
मृतक घलेका बुबा–आमा छैनन् भने एक दिदी नेपाल र अर्की दिदी बेलायत तथा भाइ सिंगापुरमा बस्ने बताइएको छ। उनि केही समय अघि मात्र टेक्ससको डलासबाट केन्ट बसाई सरेर गएका थिए । यसैविच, मारिएका नेपालीलाई क्षतिपूर्ति गर्न प्रवासी नेपाली मंच अमेरिकाको माग गरेको छ ।