काठमाडौं, २३ पौष २०७५ । गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापान र विप्स ल एशोसिएट्स प्रालि, काठमाडौंबीच निःशुल्क कानूनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।
उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई नेपालमा आइपर्ने कानूनी समस्याको समाधानका लागि कम्पनीले कानूनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । जापानमा बसेर नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा पनि कम्पनीले परामर्श प्रदान गर्नेछ ।
सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष तासी वाङ्दी लामा र विप्स ल एशोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले सोमवार हस्ताक्षर गरे । नेपालमा लगानीका गर्न चाहने जापानी लगानीकर्तालाई समेत कम्पनीले उचित कानूनी परामर्श दिने बताइएको छ ।
एनआरएनए जापानको सिफारिसमा जापानवासी नेपालीले टेलिफोन र इमेलबाटै कानूनी परामर्श लिन सक्ने ‘विप्स ल’का सञ्चालक सन्तोष तिवारीले बताउनुभयो ।
साथै, विप्स ल एसोसिएट्सले कानूनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौताले नेपालमा लगानीको अवसर खोजेर बसेका गैरआवासीय नेपालीलाई फाइदा पुग्ने विश्वास गरेको सञ्चालक तिवारीले जानकारी दिनुभयो ।