- ADVERTISEMENT -
- ADVERTISEMENT -

गरिबको दशैं

October 19, 2018
2342
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कातिक २-   घरदेखि अलि परको डिलमा कपडा सिलाउने कल (सिलाई मेसिन) राखेर खोल्सामा रने दाइले सु गर्न ला’को टाढैबाट देखें । खुशीको सीमा नै रहेन । चिच्याउँदै घरभित्र छिरेर आमालाई सुनाएँ– ‘आमा रने दाइ हाम्रो घर लुगा सिउन आउँदैछन् । पैला मेरो सट सिउने है ।’

आमा केही बोल्नु भैन । कपडा सिलाउँदा सबैभन्दा पैला सिलाउने रहर यति तिब्र हुन्थ्यो कि मानौं सिलाएर सकेकै दिन हाम्रो दशैं हुन्थ्यो । नयाँ लुगा लगाउनका लागि हामी दशै कुर्दैनथ्यौं । सिलाएर सकेकै दिन लगाएर गाउँको एक फन्को मारिन्थ्यो । अनि बल्ल दशैं आएको जस्तो लाग्दथ्यो । त्यसैले पनि म मेरा लुगा सबैभन्दा पैला सिलाउन चाहन्थें ।

अस्ति गएको तीजमा दिदी र आफुलाई कपडा सिलाएकै कारणले गर्दा होला मौन समर्थन पाइएकै जस्तो भयो । मुखले हुन्च नभने पनि मनले मेरै कपडा पैला सिलाइदिने योजना बनिसकेको थियो सायद । त्यसैले आमाले केही भन्नु भएन ।

घरभित्रबाट परालको गुन्द्रो ल्याएर रने दाइलाई बस्ने ठाउँ बनाइदिएँ । दराजमा राखेको लुगामध्ये मेरो मात्र निकालेर बाहिर पेटीमा टुसुक्क बसें ।

‘नमस्ते ठूल्जेइ, दशैं ल्याएर आइगें म त । के गर्दै हुनुन्च भित्र ?’

रने दाइले लुगा सिउने कललाई मैले बिछ्याइदिएको गुन्द्रीमा राखेर म छेऊ टुसुक्क बस्दै आमालाई नमस्ते सुनाए । आमाभित्र भान्सामा भैसीलाई दाना उमाल्दै हुनुहुन्थ्यो । भित्रैबाट चिच्याउँदै भन्नुभयो, ‘नमस्ते जेठा, दशा लागेको बेला केको ल्याउँथिस् तैंले दशैं बाबु ।’

रने दाइ मुसुक्क हाँस्दै मलाई पुलुक्क हेरे । म पनि खिस्स हासें ।

रने दाइले कलमा मसिनो धागो छिराउने सुई मिलाएको जस्तो गरे । तलतिरबाट खै के निकाले अनि सफा गरे जस्तो गरेर फेरि उही स्थानमा छिराए । आफ्नो कपडाको झोलाबाट सानो तेलदानी निकालेर मेसिनका सबै ठाउँमा पिच्च–पिच्च तेल हालेर हल्का बनाए । उनकोे कार्य चुपचाप पेटीमा बसेर हेरिरहें मैले । यतिन्जेल आमा बाहिर आउनु भएन ।

‘ए ठूल्जेइ, खै कपडा ल्याउनुस् । सिलाउन सुरु गरौं, अन्त पनि जानु छ ।’

‘त्यै ठूलेको कप्रा पैला सिलाइदेऊ बा । जातिबित्ती गरेको छ ।’ आमाले भित्रबाट भनेको मेरो कानमा गुञ्जियो । पेटीबाट जुरुक्क उठेर रने दाइलाई कपडा बुझाएँ ।

रने दाइले कपडा ओल्टाइपल्टाई हेरेर भने, ‘यो त स्कुल ड्रेस हैन र भन्या ?’

दिदीलाई दक्षिणस्वरुप आमाले दशको नोट दिएको मैले देख्नासाथ हामी छोरालाई पनि माग गरे । यो कुरामा हामलाई आमाले सधैं पक्षपात गर्नुहुन्थ्यो । भन्ने बेला छोराछोरी बराबरी भन्ने तर हामलाई टिका लाएर दक्षिणा नदिने । दिदीलाई चै देखाइ–देखाई दश, बीस रुप्पे दिने ।

‘तँ छोरा मान्छे होस्, तँलाई दक्षिणा दिन पर्दैन ।’

आमाले सधैं भन्ने यही शब्द आज पनि दोहरियो । तर मैले माग्न छाडेन र भन्दिएँ– ‘अँ, हामी त सन्तानै हैनौ नि त । त्यही मात्र हो तिम्रो सन्तान ।’

आमाले खाउँलाझैं गरेर हेर्नु भो । म रिसाउँदै निस्किएँ ।

बाले दशैंको राम्रो ब्याख्या गर्नुहुन्थ्यो– धनीलाई दशैं, गरिबलाई दशा भनेर । वास्तवमै हो रहेछ । कुभिण्डोलाई बोका बनाएर घर बाहिर घुम्न निस्किएको मैले हल्दार बाको घरमा त्यो गन्नाउने बोको काटेर पोल्दै गरेको देखें । अरे बाफ रे ! कम्ता मिठो बासना त थिएन त्यो पोल्दै गरेको बोकाको बासना । हिजो ज्यूँदै पनि गनाउने, आज मरेपछि पनि गनाउने । बोकाको जातै गनाउने ।

‘ओए, उता जा । चोखे लाग्ने जसरी हेरेको छ, भाग त्याँबाट ।’

पोल्दै गरेको बोकालाई एकसुरे भएर हेरेर घुटुघुटु थुक निल्दै गरेको मलाई हल्दार बाको नातिले नराम्ररी थर्कायो । खुरुक्क आफ्नो बाटो लाग्दै त्यसलाई सरापें ।

गाउँका हरेकजसो घरमा बोका ढालिएका थिए । तर हाम्रो घरमा बोकाको रुपमा कुभिण्डो ढालिएको थियो । अरुको घरमा बोकाको मासु पाक्यो । हाम्रो घरमा कुभिण्डोको झोल ।

छिमेकका शंकर अंकलको घरमा पकाको मासुको बासना यति चाँडै आउँदै थियो कि कुभिण्डाको झोल र भात घाँटीबाट छिर्दै छिरेन । मैले खाना खाँदा ल्याङ ल्याङ गरेको देखेर आमाले हकार्दै भन्नुभो– ‘खाने मन भए खा, नत्र जुरुक्क उठेर जा । भोक भए पो भोजन मिठो मान्थिस् ।’

भोक त कति मानेको थिएँ तर पापी मासुको बासना नाकैमा परेसी आमाले भनेको ठीक उल्टो भयो– भोजन मिठो भए पो छिर्नु ।

‘बा साँझ त मासु ल्याउनु है ।’ भात खाँदै गर्दा बालाई सुनाएँ । मासुप्रतिको रुची मलाई मात्र नभएर सबैलाई थियो । तर दशै भन्दैमा तीन दिन मासु खाने हैसियत थिएन हाम्रो ।

‘आज ल्याउदिनँ । भोलि बेलुका श्यामेको घरमा खसी काट्ने हुन् रे । त्यही भनेको छु एक किलो ।’

‘दशैंमा जम्मा एक किलो ?’ दिदी बोली ।

बा चुप्प लाग्नु भो, आमा खौकिनु भो– ‘घाँटी हेरेर हाड निल्नु पर्च । धेरै खान मन भए आफ्नै मासु काटेर खा ।’

दिदी चुप लागी । बा हाँस्न थाल्नुभयो । मलाई रिस उठ्दै थियो ।

खाने पिने दिनमा पनि अड्कलेर अनि पु¥याएर खानुपर्ने । मान्छेहरु दैनिक एक छाक मासु नहुँदा खानै खादैनन् । तर हाम्रा लागि माछा मासु खान चाडपर्व नै कुर्नुपर्ने । चाडपर्वमा पनि अघाउन्जेल खान नपाइने । चाख्न पाइने भन्दा फरक नपर्ला ।

मुख सकसक ग¥यो मेरो । ‘बा, पर्सी दशैंको दिनसम्मलाई त एक किलो मासुले अलि पुग्दैन होला । तपाइँ त भस्मे कन्जुस हुनुन्च नास ।’

दिदीले हकारी मागेपछि चुप लागे पनि मैले फेरि बालाई दबाब दिन थालें । तर दबाब दिने शब्द अलि मन दुख्ने बोलेछु क्यारे । बा घोसे मुन्टो लाएर भात खानु भो । अनि केही नबोली बाहिरिनु भो ।

बा बाहिर जानासाथ आमाले मलाई हकार्र्दै भन्न थाल्नु भो– ‘जाबो मासुका लागि बाको मन दुखाइस् नि । अवस्था के छ बुझ्नु छैन, बालाई कन्जुस भन्नी । आफ्ना छोराछोरीले पेटभरि खाऊन् भन्ने कसको मन हुँदैन र ? घरको अबस्था नबुझी बालाई कन्जुस भन्ने हिम्मत गरिस् पापी ।’

साँच्चै बाको मन दुखाएजस्तो लाग्यो । हैसियत नहुने हाम्ले जमिन्दार र हल्दारको घरमा मनाउने जस्तो धुमधामले दशैं मनाउन सकिदैन जस्तो लाग्यो । बासँग माफी मागेर औकातअनुसारकै दशैं मनाउने रहर जाग्यो ।

‘बा, भो दशैं दशैंजस्तो गरेर मनाम् । दशैं मनाउँदा दशा लाग्ने गरी नमनाम् । हामी एक किलो मासुमै खुशी छौं । ऋण गरेर मनाएको दशैेंले खुशी हुँदैनम् ।’

बा खिस्स हाँस्नु भो । बाको हाँसोमा दशैंभन्दा ठूला पर्वहरु देखिए । बाको हाँसो नै मासुभन्दा मिठो लाग्न थाल्यो । बालाई पीडामा पारेर दुई चोक्टा मासु धेरै खानुभन्दा झोेल भात नै मिठो सोच्न थालें ।­      —ओम पाण्डे (साउदी अरब)                          नोट:- यो काल्पनिक कथा हो कसैको जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -