असोज ३०-साहिली भाउजुलाई भने १२ वर्षदेखि अरबियन मुलुकमा रहनुभएका सहिला दाइ फर्किए हुन्थ्यो भन्ने आशा किन नहुँदोहोला र ? तर यो वर्ष फर्कनुहोला भन्ने विश्वास भने छैन । नजिकिएको दशैंले मुटु चर्कन्छ, यादका ओइलाएका घाउहरु कोट्टिने गर्छन्, चहराउछन्, कता कता दुखाइ त कता कता नानाभाँटीका कल्पना। अनि त बलिन्द्र धारा आँशु बग्दछन् । यसो फोनसोन गर्ने, सञ्चोबिसञ्चोको खबर पठाउने गरे पनि त चित्त बुझ्थ्यो ।
केटाकेटीलाई भने केको चिन्ता नि ? हाँस्छन्, नाच्छन्, गाउँछन्, खेल्छन् । विदेशिएका बाबाको पनि चासो छैन, काकाको पनि मतलब छैन । तर पनि दशैंको बेला ढिपी गर्दै बाबाकाकाकाबारेमा प्रश्नैप्रश्न तेर्स्याउँदा थुप्रै आमाहरुलाई भक्कानो छोडेर रुने बनाउँछन् । आमाले राता राता आँखाबाट बगेका आँशु थाम्नै नसकेर मिजेत्रोले पुछ्दै रुन्छिन्, दाहिने मुठ्ठीले मुटुमा ढुक्ढुकाउँछिन् अझ साह्रो धड्कन्छ मुटु, अझ दुख्छ छाती, अझ चर्कन्छ मन ।
सबैतिरबाट दशैं तिहार मान्न गाउँ फर्केका केटाकेटीहरु आँगनमा खेल्दैछन् । ८ वर्षीय रामुले अञ्जानमा घमण्ड गर्छ : हाम्रो बाबाले ठूलो खसी किन्नुभाको छ । दशैंमा लगाउने झिनको पायट, जाकेट र जुत्ता किन्दिनुभाको छ । १३ बर्षिय रोशन विचरा केही भन्न लागेको जसरी ओठ फर्फर बनाउँछ । रोशनको आमा साहिली भाउजुले झ्यालबाट रोशनको चेहरा देखेपछि झन् आँशुका ढिक्काहरु बरल्ल बरल्ल झार्छिन् ।
साने दाइजस्तो सधै मिहेनत र दुख गर्ने गाउँले कोही छैन । नेपालमै रहनुहुन्छ । तर दशैमा बच्चाहरु र चमेली भाउजुको साना साना मागहरु पूरा गर्न नसक्दा दशैं उहाँका लागि भार बन्छ । उहाँले सोच्नुहुन्छ दशैं दशा बनेर आउँछ उहाँका लागि । दशैंमा देखासिकी गर्ने र आफ्नो हैसियतभन्दा बढी खर्च गर्ने चलन पनि छन् । भन्ने गरिन्छ : “दशैंमा ऋण नलागेर कहिले लाग्छ ?” कतिपयको धारणा हुन्छ दशैंमा मारकाट गरिनुहुँदैन । जुवातास, कृत्रिम बजार अभाव, तड़कभड़कजस्ता कुराहरुलाई सुधार गर्न जरुरी छ ।
चाडपर्वमा हुनेखानेकाहरु खानलाउनमा तडकभडक देखाइदिन्छन् । गरिबका जहानबालाहरुको पनि दशैंतिहारमा राम्रो खाने मिठो लगाउने रहर हुनु अन्यथा पक्कै होइन । गाऊंका गरिब किसानहरू दोकानमा गएर १२ माना चावल उधारो माग्दा साहुले नपत्याउँदा होलान । यसो हुंदा गरिब घरमूलीहरुको भने दशैं होइन दशा आउछ ।
परदेशीहरुलाई भने चाडबाड आउँदा अरु बढी घरको यादले सताउछ । चाडबाड नआए पनि हुन्थ्यो भनि सोच्न बाध्य हुन्छन् उनीहरु । सात समुन्द्र पारि रहेकाहरु बालबच्चा र आफ्नी प्यारीले के गर्दै होलान् भनेर चिन्ता लिन्छन् । परदेशमै रोइरहेका छन् उनीहरु, धन कमाएर फर्कने सपना पूरा नहुँदा कहिले फर्कने हो स्वदेश उनीहरु आफैलाई पत्तो छैन, यस्तै छ गन्तव्यविहिन र अनिश्चित भविष्य ……………
हाम्रो देशमा सबैको आवाज सुन्ने र सबैको चाहनाको सम्मान हुने वातावरण निर्माण होस् । देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम होस् । सुख, शान्ति र सन्तुष्टिमा जीउने वातावरण बनोस । दशैंको अवसरमा सबै नेपालीको सु-स्वास्थ्य, दीर्घायु तथा उतोरोतर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना ।
अधेरी यात्रामा जुनेली झरुन् । शत्रुको शिर पाउमा परुन। दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन । सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन । चन्द्रमा सधै दाहिने हुन् । मनोकामनाहरु पुरा हुन । मनले आटेको ताकेको पुगोस् । खुशी को बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशी छाओस । कोटका मौला दाहीना,खड्ग दाहीना, तेतीसकोटी देबी देवता दाहीना हुन, नव दुर्गा भवनीले सदा सर्वदा सफल्ताको ताज पहीराहुन, सबै जानको मनको ढुकढूकी हुन सफल होस् । धनकी देवीले बास गरुन, सबै जानले मान र आश गरुन यही छ मेरो २०७५सालको वीजय दशमी तथा शुभ दीपावलीको मंगलमय शुभकामना शुभकामना शुभकामना !! प्रदेसी :- ओम पाण्डे, साउदी अरब।