३ असोज २०७५

विदेशमा रगत पसिना बगाएर हुने कमाई स्वदेशमै खुशीका साथ श्रम गरेर आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले जापानमा एक अन्तरक्रिया कार्यक्रम आयोजना हुन लागेको छ । गैरआवासीय अभियानकर्ता कपिलदेव थापाको अग्रसरतामा ‘समृद्धिको आधार कृषि, कृषि अभियानमा गैरआवासीय नेपाली’ नाराका साथ कार्यक्रम आयोजना हुन लागेको हो ।

एनआरएनए आईसीसी (ग्लोबल सह–संयोजक) रहेका थापाले सो संस्थाको कृषि प्रवद्र्धन समिति सदस्यका रूपमा समेत सक्रियता दर्शाउँदै आएका छन् । एनआरएनए आईसीसी कृषि प्रबद्र्धन समिति एशिया प्यासिफिक र एनआरएनए जापानले आयोजना गर्न लागेको कृषिसम्बन्धी उक्त अन्तरक्रिया आगामी आइतबार (२३ सेप्टेम्बर) का दिन जापानको टोकियोस्थित नेपालीहरूको जमघट हुने सोलमारी मुरा हलमा आयोजना हुने थापाले जानकारी दिनुभयो ।

अन्तरक्रियामा जापानका वरिष्ठ कृषिविज्ञहरू सहभागी हुने उल्लेख गर्दै उनले कृषिसम्बन्धी उक्त कार्यक्रममा सहभागी भई विज्ञका कुरा सुन्न र आफ्ना कुरा पनि सुनाउन आग्रह गरेका छन् । जापानी विज्ञबाट ज्ञान लिएर स्वदेशमा उन्नत ढङ्गले अर्गानिक कृषि व्यवसाय गरी जापानमा भन्दा ज्यादा आर्जन गर्न सकिने कपिलदेवको दाबी छ ।

आफ्ना पुर्खाले छोडेका, आफैले जोडेका र अरुसँग भाडामा लिइएका जमिनको सदुपयोग गरी अन्तर्राष्ट्रिय बजारमा बेचिएका या बेचिन तयार भएका नेपाली पाखुरालाई नेपाल आमालाई सिँगार्ने कर्ममा उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्