???????? मेरि पुजनिय आमा सेवा ढोग ,
खै अरु के भनेर सम्बोधन गरौं ,सम्बोधन नै गर्न आएन आमा ! तिमी यति महान छौ शब्दमा सम्बोधन गर्नै आएन ! बुबा , भाइ ,बहिनी ,सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु ! म खै के भनौं सन्चो या बिसन्चो ! यस्तै छ जीवन।
आमा ! आकाशलाई ओत लाग्ने छानो देख्छु, धर्तिलाई आड लाग्ने साधन। अनि तेजस्वी सुर्यलाई सहारा देख्छु त खलखली पसिनालाई बर्षा । 50/55 डिग्रीको तापमानले पनि तिम्रो सम्झना मेटाउन सकेको छैन। सम्झन्छु अतित र बहकिन्छु बर्तमानमा। मेरो बाबू भोकायो भनेर बर्षौको फाटेको पटुकिमा भए पनि पोका बनाउदै ल्याएर दिन्थेउ त्यो अर्काको मेलामा जाँदा दिएको खाजा पनि। आमाले के के न ल्याउनु भो भनेर हामी त्यसै फुर फुर । तिम्रो काख छोडेर आज धेरै टाढा छु र पनि तिम्रो कल्पनामा नै डुबिरहेको हुन्छु। निलो आकाशमा शिर ठाडो बनाउँदै दाहिने हातले भतभती पोल्ने किरण छेक्दै एउटाआँखा चिम्लिएर र अर्को आँखा मन्द मुस्काराए झैं गरेर क्षितिज पारी हेर्दा पनि तिम्रै तस्बिर झल्किरहन्छ। विदेश भनेको चिसो AC र मिठो-मिठो खाने कुरा मात्रै पाईने ठाउँ होईन आमा!
रापिलो घाममा,१२ घण्टा डयूटी अनि टिफिन भित्र गुम्सिएको बासी भात खान बाध्य हुनुपर्छ यहाँ..
छोरो चिल्ला कारमा हिडेको नठान्नु,डुंग-डुंग पसिना गनाउँदै बसमा चढेको ‘हुल’ संगै हिंडनुपर्छ यहाँ….
दशैंमा पठाएको पैसा सानो दुखले आर्जेको होईन,गोरु जोताईमा कमाएको धन हो आमा!
नरुनु,दुख बुझिदिनु होला,पिडा पाउनु सम्म पाएको हो आमा! तपाईंको आशिर्बादको कृपाले आजको मितीसम्म आराम नै छु ! र हजुर पनि सन्चै हुनुहोला भनी प्रार्थना गरिरहेको छु !आमा ,जिन्दगी यस्तै रहेछ पहिले पहिले बच्चामा साथीभाईहरुसँग रुमाल लुकाइ खेल्थे अहिले यहाँ दु:ख लुकाइ खेलिरहेको छु अनी सानो छदा पिपलको रुख चडेर पिंग खेल्थे अहिले यता ४०-५० तला अग्लो भबन चडेर पिंग खेल्दै सिसा पुछि रहेको छु ! पल्ला घारे रामे संगै अस्ती सम्म डोको बोक्न लाज लाग्नी म आजकाल म उहीसँग पानी जहाजमा समान लोड अन्लोड् गर्न गरेको छु ! आज सनिबार गोठालो जा भन्दा नजाने म हजारौँ भेडाहरुको मालिक बनेको छु त्यो पनि उराठलाग्दा र सुनसान बालुवाको ढिस्कोमा।
तेसैले आमा अब पनि छोरा बिग्रन्छ भनेर चिन्ता नलिनु खाडिको यो खडेरी, पसिना र साहुको गालीले म चेति सकेको छु
आमा ! धेरै लेख्ने आँट आएन अरु त ! केही छैन आँसु र दु:खको कहानि बाहेक ! यदि मरेछु भने यहि मेरो अन्तिम सम्झना हुनेछ तिम्रो लागि ! यदि बाँचेछु भने म सम्झिरहने छु !
आमा मलाई नबिर्सनु ल ! सम्झिरहनु ल !
म हजुरको ओठमा मुस्कान बनेर मुस्कुराइरहेको हुने छु !
बाँकी कुरो अर्को पत्रमा,
उही तपाईंको परदेशी छोरा …………………….ओम पाण्डे(साउदी अरब)







































