काठमाडाै- राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफैंले दुई वर्षभित्रैै धरहरा निर्माण सम्पन्न गर्ने भएको छ । धरहरा निर्माणका लागि आगामी १५ दिनमै टेन्डर आह्वान गर्ने तथा असार मसान्तभित्रै शिलन्यास गरिसक्ने प्राधिकरणको योजना छ ।
प्राधिरकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुषालका अनुसार पाँच वर्षका लागि स्थापना भएको प्रधिकरणको कार्यकालमै धरहरा निर्माण गरिसक्ने योजना रहेको छ । त्यसैगरी स्थापनाको २८ महिना बितिसक्दा आधा काम सकिएको उनले दाबी गरे । बाँकी काम पनि तोकिएको समयसीमा भित्रै गरिसक्ने प्राधिकरणको योजना रहेको उनले सुनाए ।

मंगलबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले प्राधिकरण आफैले नै धरहरा बनाउने निर्णय गरेको जानकारी दिए ।

फोटो पननिर्माण प्राधिकरण

१५ दिनमै सार्वजनिक खरिदको सूचना निस्कने बताउँदै उनले भने, “म अहिलेलाई यत्ति भन्छु कि असारसम्म धरहरा निर्माणको जिम्मा दिई शिलान्यास हुन्छ ।” अन्य सम्पदा निर्माणको जिम्मा भने महानगरलाई दिइएको उनले बताए ।

सोही कार्यक्रममा प्राधिकरणका सीईओ भुसालले ५ वर्षभित्रै प्राधिकरणका सम्पूर्ण काम सम्पन्न गर्ने दाबी गरे । उनले भने, “२०७६ साल असार मसान्तभित्र निजी आवास पुनर्निर्माणको काम जसरी पनि सक्नेछौं । हालसम्म ७ लाख निजी आवास निर्माण सम्झौता भएकोमा साढे ५ लाख घर निर्माण सम्पन्न भइसकेको वा हुने क्रममा छ । तसर्थ तोकिएको समयमा आवासको काम कुनै हालतमा सम्पन्न हुन्छ ।”

विद्यायलय र स्वास्थ्य चौकी निर्माणको काम पनि तीब्र गतिमा अघि बढेको उनको दाबी छ ।

उनले प्राधिकरणको लक्ष्यअनुसार प्रगति भइरहेको दाबी पनि गरे । उनले भने, “निर्माण सुरु गर्न मात्र कठीन भएको हो । घरको जग बनेपछि तल्ला थप्न भने कुने कठीनाइ हुँदैन ।”

उनले भने, “विगतमा जे समस्या भयो, त्यो बिर्सनु जरुरी छ । अब, प्रधानमन्त्रीले भने झैं नेपाल सँधै भुकम्प पुनर्निर्माण कार्यमा अल्झिन हुँदैन, सामाजिक आर्थिक रुपान्तरणको काम अगाडि बढाउनुपर्छ । त्यसको लागि समयमै पुनर्निर्माणको काम सक्न जरुरी छ ।”
स्थानीय तह गठन भएपछि पुनर्निर्माणको कार्य गर्न सजिलो भएको बताउँदै प्रमुख कार्यकारी अधिकृत भुसालले स्थानीय गाउँपालिका प्रतिनिधिहरु खास गरेर गाउँपालिका महासंघसँग अन्तरक्रिया गरेर काम अगाडि बढाइएको जानकारी दिए ।

भूकम्पपछिको आँकलन प्रतिवेदनअनुसार भूकम्पबाट ४ लाख ९८ हजार ८५२ निजी घर र २ हजार ६५६ सरकारी भवन पूर्ण रुपमा क्षति भएका थिए । प्रधिकरणका अनुसार भूकम्प र परकम्पबाट क्षतिग्रस्त ७ लाख ६७ हजार ७०५ निजी घर लाभग्राहीको सेवा सूचीमा रहेको र त्यसमध्ये हालसम्म १ लाख १९ हजार ६७८ घर निर्माण सम्पन्न भइसकेको छ । प्राधिकरण प्रवक्ता यमलाल भुषालका अनुसार पुनर्निर्माणका क्रममा हालसम्म ३ लाख २२ हजार २०१ लाभग्राहीले दोस्रो किस्ता लिइसकेको र १ लाख २३ हजार ५३७ लाभग्राही तेस्रो किस्ताको रकम लिने प्रक्रियामा रहेका छन् । त्यसैगरी ८६ हजार ३३८ लाभग्राहीले तेस्रो किस्ता पाइसकेका छन् ।

प्राधिकरणका अनुसार भूकम्पपछिको पुननिर्माणका लागि कूल रकम ७ खर्ब ६ अर्ब आवश्यक पर्ने भनिए पनि हालसम्म करिब १ खर्ब २० अर्ब रुपैयाँ खर्च भएको छ । यसैगरी प्राधिकरणमा झण्डै २ लाख ५० हजार लाभग्राहीले गुनासो गरेका छन् । त्यसमध्ये अधिकांश गुनासा आफू घरमा नभएकाले लाभग्राहीको सूचीमा छुटेको र अंशबण्डा नगरी अलग्गै बसेकाले आफूहरुलाई उक्त सूचीमा समावेश गराई पाउँ भन्ने रहेको प्राधिकरणको दावी छ ।

यसअघि २०७२ असार १० मा भएको दाता सम्मेलनका क्रममा दातृ निकायबाट ४ खर्ब १० अर्ब रुपैयाँ उपलब्ध गराइने प्रारम्भिक प्रतिवद्धता जनाइएको थियो । यो प्रतिबद्धतामध्ये करिब ३ खर्ब ४३ अर्ब २१ करोड ९२ लाख रुपैयाँ दातृ निकायले भूकम्पप्रभावितका क्षेत्रका लागि रकम परिचालन गरेका थिए । यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँ मात्र प्राधिकरणलाई प्राप्त भएको थियो  । बाह्रखरी

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्