कपिलवस्तु,इमरान खान, २३ फागुन २०७५ । कपिलवस्तुमा विभिन्न हातहतियार सहित कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ९ अंचलपुर बस्ने ४० वर्षीय दुर्गाबहादुर रोक्कालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्षेत्रमा हातहतियार सहित मानिसहरु लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक समेत र सशस्त्र प्रहरी बल समेतको संयुक्त प्रहरी टोलीले खानतलासी गर्दा उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न हातहतियार सहित उनलाई फेला पारेको हो ।

उनको घरबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउण्ड, त्यसको म्यागजीन ३ थान, पेस्तोल १ थान, त्यसको म्यागजीन १ थान, त्यसको गोली ३ राउण्ड, ५.५६ क्यालिभरको १ सय ३१ राउण्ड, थप म्यागजीन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) बरामद भएको छ । हतियार सहित फेला पारी निजलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेपछि प्रहरीले नियन्त्रणमा लिन फायर गर्दा बायाँ खुट्टामा गोली लागेर उनी घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवलतर्फ लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहारी नायब उपरीक्षक रबि रावलले जानकारी गराउनुु भएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्