ओम पाण्डे
साउदी आरब

२०७५ साल फागुन २० गते सोमबार ।

नेपालको दक्ष युबा शक्ति अनि नेपालबाट बग्ने नदिको कथा लगभग एउटै छ।निरन्तर बगी रहने नदी आज फेरी सुस्साएको छ, बाढी पहिरोको बेग थाम्न नसकेर होला शायद आज आँफै चिच्चाएको छ, टाकुरामा सानो फुटेको मुल, पत्थर र पहराहरु सँग सिंघोरी खेल्ने भएछ । कहिले चिच्चाउछ, कहिले कराउछ, तर्साउन पो खोजेको हो कि जस्तो लाग्ने, विडम्बना आज उ आँफै पिल्सि रहेछ ।

तर निडर, निश्चल अनि निर्मल छहरे को पानी जस्तै, निरन्तर बगिरहने त्यो सङ्लो नारायणी जस्तै बेगले हुत्तिएर बिहार पुग्दा, सगरमाथाको शिरबाट तप तप बर्सिएका ति अमृतको मुल्य तिनीहरु लाई के थाहा ?

हो, आज त्यही भ्रमको छिनोभानो हुनु छ । शान्त अनी बिशाल हरिया पहाडबाट उछिट्टिएर यो नदी आज संसार भर फिजारिएको छ ।

त्यही बागमती जस्तो केबल छातिभरी कुन्ठा, हेलना, तिरस्कार र कान्तिपुरको फोहरी राजनीति र ढल बोकेर बग्दा बग्दै थाकेको जिन्दगी जस्तो,पल पलमा हारको अनुभुती गराएर शिर उठाउनै नसक्ने बनाइदा पनि आशै आशले भरिएको मेलम्ची जस्तो, त्यो नदी रोकिने अझै नाम लिदैन, भलै हिड्दा हिड्दै सात समुन्द्र छिचोलेर यो उराठ मरुभुमी सिन्चाउन आएको होस्, डराउदैन अझै !

यो कस्तो नदी ? एकनाशले बगी रहने । अब त सगरमाथाको शिरको पानी पनि सुक्न थालिसक्यो, बागमती मैलिएर थला परिसकिन, मेची, कोशी, गण्डकी सबै बाध बाधेर लान थालिसके, यो पानी सुकेको खोलो भईसक्यो तर पनि अझै रगत र पसिनाले मरुभुमी हराभरा बनाउदै छ ।
मुर्खताको पनि सिमा हुन्छ, हे नदी तलाई के पुगेन त्यो स्वर्गमा र आज नर्कमा ईन्द्राशन खोज्दै छस ?

अन्नपूर्ण र माछापुच्छ्रेको काख छोडेर कुन चाँही फाइबरको न्यानो बिस्तारा रोजिरहेछौ ?

मरुभुमीको बालुवाले तिम्रो रगत र पसिनाको मोल कहिल्यै फिर्ता गर्दैन, तिमी जती सिन्च यसलाई यो बालुवाको सागर हो, हराभरा माटो त त्यो नेपाल भित्र छ त्यो मुटु भित्र छ ,तिमी नदी झै अदम्य साहस र पौरख बोकेर जिउनुको मजा त त्यहा छ, त्यैसैले फर्क अब ।
तिम्रा ति कोशीका भन्दा तेजिला धारहरु मोड अब नेपाल तर्फ, फर्क अब मातृभुमि तर्फ ।

तिमी बिना उजाड बनेका पाखाहरु फेरी एक पटक सिन्चिनु छ, भ्रस्टाचार र फोहरको राजनीति बागमतीमा सेलाएर एकपटक फेरी बागमती बाटै सरसफाइ अभियान चलाऊनु छ । अब पटक पटक आन्दोलनको हुरी ल्याएर जनता तर्साउने खेल बन्द गर्न तिम्रो त्यो तुफानी बेग चाहिएको छ ।

अब यो जर्जर बन्दै गएको मुलुकमा फेरी तिम्रो पानी चाहिएको छ ।

हे नदी, मोडिएर प्रदेश तेर्सिएका तिम्रा पाइला फेरी यही धर्तीमा चाहिएको छ । नेपाल आमालाई त्यही दक्ष्य युबा चाहिएको छ जो एक कुशल राष्ट्र बिकासका हातहरु खाडिमा पसिनाको बिस्तारा र आँशुको सिरानिमा बाँचेका छन अनि त्यही स्वच्छ सुन्दर शान्त नदि चाहिएको छ । नेपाल लाई फेरी तिमी चाहिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्