काठमाडौं, फागुन १४

कांग्रेस केन्द्रीय कार्यालयको परिसरमै आइतबार भ्रातृ संस्था नेविसंघको दुई खेमाका नेता–कार्यकर्ता एक आपसमा भिडे । झगडा साम्य पार्न प्रहरी आएर लाठीचार्ज गर्नुपर्यो । तर, केन्द्रीय समिति बैठक बस्ने तयारीमा रहेका पार्टीका नेताहरू दोस्रो तलाबाट रमिता हेरेर मनोरञ्जन लिए । झगडा मिलाउन आँगनमा झर्ने आँटसमेत गरेनन् नेताहरु ।

झडप शान्त भएपछि नेविसंघका नेता–कार्यकर्तालाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइयो । तर, त्यसपछि बसेको केन्द्रीय समिति बैठकमा आँगनमै मच्चिएको ताण्डवबारे छलफलसमेत भएन । बोल्न खोज्ने नेताहरूलाई पनि सभापति शेरबहादुर देउवाले रुलिङ गरेर चुपचाप बस्न बाध्य बनाउनु भयो । आइतवार सभापति देउवा र कृष्ण सिटौला पक्षका विद्यार्थीबीच झडप भएको थियो ।

पार्टीका भावी नेताहरूको यस्तो अराजकताबारे कांग्रेसले केन्द्रीय समिति बैठकमा छलफल गरेको छैन र त्यसपछि पनि मुख खोलेको छैन । घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने औपचारिकतासमेत पार्टीले देखाएको छैन । नेविसंघ १२ औं महाधिवेशनको पर्खाइमा छ । अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल र थप गरिएको पाँच महिनाभित्रसमेत महाधिवेशन गर्न नसकी राजीनामा दिए । महरले राजीनामा दिएको १५ दिनपछि पनि तदर्थ समिति गठन नभएपछि नेविसंघमा नेतृत्वविहीनता र अराजकता बढेको नयाँपत्रिका दैनिकमा समाचार छ ।

तदर्थ समिति गठन गर्ने बाटो खुलेदेखि नै पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न समूह अग्रसर भएका छन् । कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय समितिको बैठक बस्ने दिन नियमित केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दै विधानअनुसार ३२ वर्षे उमेरहद लगाएर तदर्थ समिति बनाउन माग राख्दै आएको छ । यो पक्षले सभापति शेरबहादुर देउवासहितका अरू पदाधिकारी कार्यालय प्रवेश गर्दा घेराउ र नाराबाजी गर्दै आएको थियो । आइतबार पार्टी संस्थापन पक्षका नेता–कार्यकर्ता पनि सानेपा पुगेपछि झडप भयो ।

झडपको एक पक्ष ऋषिकेशजंगह शाह पार्टी कार्यालयमै सभापतिलाई घेर्न थालेपछि सहन सक्ने अवस्था नआएको बताउँछन । ‘कार्यकर्तासँग नेता डराउनुपर्ने अवस्था आयो । सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा प्रकाशशरण महतलाई केन्द्रीय कार्यालयमा केही दिनयता नेविसंघका नेता र विद्यार्थीले अनावश्यक घेराउ र अपमान गरे । लोकतान्त्रिक र अनुशासित पार्टीभित्र अराजकता हुुनुहुँदैन । सभापतिसहितलाई १० जना मान्छे गएर सधैँ घेर्ने शैली ठीक छैन भनेर हामी पनि केन्द्रीय कार्यालयमा पुगेका हौँ,’ शाह भन्छन ।

अर्का नेता रामप्रसाद अधिकारी भने डा प्रकाशशरण महतको निर्देशनमा आक्रमण भएको जिकिर गर्छन ।

‘नेविसंघमा ३२ वर्षे उमेरहद लगाएको विधान बनेदेखि नै हामीले विधानसम्मत संगठन चल्नुपर्छ भन्दै माग गरिरहेका थियौँ । त्यसैअनुसार आइतबार पनि हामी शान्तिपूर्ण धर्ना दिन पुगेका थियौँ । पार्टी सचिव प्रदीप पराजुलीसँग सल्लाह भएरै हाम्रो टोलीले पार्टी अफिसको पूर्वीगेट र ऋषिकेशजंग शाहले पश्चिमगेटबाट धर्ना दिने भन्ने सहमति भएको थियो । सहमतिअनुसार हामीले पूर्वीगेटअगाडि धर्ना दियौँ, तर ऋषि नेतृत्वको टोली पनि हामीले नै धर्ना दिन लागेको गेटतिर आएर हामीमाथि आक्रमणमा उत्रिए,’ अधिकारीको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्