बबिता तामाङ/नेपाल खबर

नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्न ३० वटा मौलिक परिकार छनौट गरिएको छ।

हिमाल, पहाड र तराई क्षेत्रबाट संकलन गरेका १ सय ८० मध्येबाट ३० मौलिक परिकारको खाद्य प्रयोगशालामा क्यालोरी परीक्षण भइसकेको हो।

क्यालोरी परीक्षण गरेका मौलिक खानालाई विश्वव्यापीकरण गर्ने र नेपालमा परिकार (ग्यास्ट्रोनोमिक) पर्यटक आकर्षित गर्ने लक्ष राखिएको छ।

नेपालमा विदेशी पर्यटकहरु विशेष गरी हिमाल आरोहण, ट्रेकिङ, हाइकिङ, स्किइङका लागि आउने गरेरका छन्। तर मौलिक परिकार खानकै लागि भनेर नेपालमा पर्यटक भित्रिएको तथ्यांक छैन। परिकार पर्यटक भित्र्याउने र नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गर्ने यो अभियान १४ सेप्टेम्बर २०१७ मै सुरु भएको हो।

मौलिक खानामा पक्कु, थाली, चुकौनी, समयवजी, बँदेल तारेको, सेकुवा, छोयला, करेसावारी, खल्पी, सुकुटी, सेल रोटी, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, ग्वार्चा, भुटुवा लगायत समाबेस गरिएको छ।

वरिष्ठ पर्यटन व्यवसायी तथा यस अभियानका अभियन्ता कर्ण शाक्यको संयोजकत्वमा सेप्टेम्बर २०१७ मा समिति गठन भएको थियो। होटल एशोसिएशन अफ नेपाल (हान), नेपाल पर्यटन बोर्ड, सेफ एशोसिएसन, रेष्टुराँ एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) लगायत संस्थाका प्रतिनिधिसहितको समितिले ३० वटा नेपालका मौलिक खाना अध्ययन गरेर छनोट गरिएको हो। ती मौलिक खानामा पक्कु, थाली, चुकौनी, समयवजी, बँदेल तारेको, सेकुवा, छोयला, करेसावारी, खल्पी, सुकुटी, सेल रोटी, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, ग्वार्चा, भुटुवा लगायत समाबेस गरिएको छ।

‘इटाली, फ्रान्स, चाइना, इन्डिया, चाइना, भियतनाम, कम्बोडिया लगायत देशमा पर्यटकहरु मौलिक खाना खानकै लागि भनेर जाने गरेका छन्,’ कार्यदलका सदस्य तथा हानका महासचिव विनायक शाहले भने, ‘यी देशहरुलेजस्तै नेपालले पनि मौलिक परिकार खान चाहने पर्यटकलाई भित्र्याउनका लागि वातारण निर्माण गर्न आवश्यक छ भन्ने लागेर अभियान हामीले सुरु गरेका हौं।’ यो कार्यदलले ३० नेपाली मौलिक खाना छनौट गर्दा ती परिकार बनाउन आवश्यक सामग्री विश्व बजारमा उपलब्ध रहेको छ छैन भनेर अध्ययन गरेको शाहले जानकारी दिए। विश्वव्यापीरुपमा नेपाली खाना उपयोगी साबित गर्नका लागि अध्ययन गरेको उनले जानकारी दिए।

८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये धेरैले होटल व्यवसाय गर्दै आएका छन्। ती व्यवसयीले मात्र नेपाली मौलिक परिकार आफ्नो मेनुमा राखि दिएमा मात्र पनि यसको प्रचारप्रसारमा थप सहयोग पुग्ने महासचिव शाहको भनाइ छ। नेपाली खानालाई प्रचारप्रसार गर्नका लागि नेपाल पर्यटन बोर्डले कल्चर एन्ड कुजिन अभियान अगाडि सारेको छ। आगामी दिनमा तारे होटलको लाइसेन्स लिनका लागि नेपाली खानाको मेनु राख्नै पर्ने प्रवधान बनाउन लागि पहल भइरहेको उनले बताए।

नेपाल पर्यटन बोर्डको सहयोगमा ती परिकार कसरी बनाउने, के कस्ता सामग्री आवश्यक पर्छ भन्ने जानकारीसहितको कुक बुक समेत तयार पारिएको छ।

३० वटा परिकार कसरी तयार पार्ने भनेर २–२ मिनेटको भिडियो निर्माण गरिएको छ। खाना स्वास्थसँग जोडिने भएकाले नेपाली मौलिक खाना स्वास्थद्र्धक बनाउन लागि खाद्य प्रयोगशालामा परीक्षण समेत गराइएको छ।

नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गराउनका लागि बौशाख २४ गते फूड फेष्टिवल आयोजना हुँदैछ। सोही दिन दिन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री, विभिन्न देशका राजदुत लगायको सहभागितामा नेपाली मौलिक खाना कसरी बनाउने भनेर तयार पारेको भिडियो, कुक बुक, ल्याब रिपोर्ट सार्वजनिक हुँदैछ। यी सामग्री इन्टरनेटमा निःशुल्क उपलब्ध हुनेछन्। ती सामग्री हेरेर विश्वका जुनसुकै ठाउँमा पनि नेपाली मौलिक परिकार बनाउन सकिनेछ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्