काठमाडौं, १३ फागुन २०७५ । सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन् ।

बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका हुन् ।

पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यसँग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेकी हुन् ।

दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा सिक्न थालेकी थिइन् । नेपालको ग्रामीण बासिन्दाझैँ बोल्न र लेख्न सक्ने भएपछि उनले विवाहका लागि तयारी गरेकी थिइन् ।

विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालत गएका बागलुङबाट तारानाथ आचार्यले जनाएका छन् । आचार्यका अनुसार केटीका तर्फ चाहिँ अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर आएकी थिइन्। सफिकले पाकिस्तानी बाबुआमासँग पनि सहमति लिएको बताएकी छिन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालको भनाई छ । फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना भएको पनि उनले बताए । मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताको उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्