गलकोट, फागुन १०

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता टुङ्गिएको बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकामा–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटनमा उहाँले देशमा समृद्धि नआएसम्म शहीदको सपना पूरा नहुने भन्दै अहिलेको सरकारले समृद्धिका लागि आवश्यक पर्ने सबै कानून निर्माण गरेको बताउनुभयो ।

उहाँले अबको समय भनेको समृद्धिका लागि निर्माण गरेका कानूनलाई टेकेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । देशमा समृद्धि आएमा मात्र शहीदको सपना पूरा हुन्छ भन्दै अध्यक्ष दाहालले शहीदलाई परिचयपत्रको व्यवस्था गर्ने बताउनुभयो । दाहालले भन्नुभयो, “पार्टी एकीकरणको लागि अब कुनै कसुर बाँकी राख्दैनौँ ।” उहाँले नेपाली जनताले आर्थिक अभावमा उपचार तथा शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको यो सरकारले अन्त्य भएको बताउनुभयो ।

दाहालले विद्यालयमा प्राविधिक शिक्षा तथा भौतिक सुधारका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल तथा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो । विद्यालयले शिक्षा प्रेमी, उद्यमी, विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक विद्यालय व्यवस्थापन समितिलगायत सङ्घ संस्था तथा व्यक्तिबाट स्वच्छिक रकम सङ्कलन गर्दा रु ७० लाख बढी सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले जानकारी दिनुभयो ।

विद्यालयले रु डेढ करोड सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकमले अक्षयकोष निर्माण गर्ने र ब्याजबाट प्राप्त रकमले प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना बनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्