काठमाडौं,फागुन ७

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ ।

समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपश्चात् नागरिकता, शैक्षिक प्रमाणपत्रको कागजात अध्ययन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सभापति कर्णका अनुसार नागरिकता, शैक्षिक प्रमाणपत्र र राजनीतिक दलको सदस्य रहेको उजुरी प्रस्तावित अध्यक्ष अन्सारीमाथि परेको छ । समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तावित अध्यक्ष अन्सारीको नागरिकताको सम्बन्धको परिवारको लगतसम्बन्धी सबै जानकारी माग गर्ने निर्णय गरेको छ ।

“मुस्लिम आयोगको ऐनमा राजनीतिक दलको सदस्य नभएको व्यक्ति मात्र आयोगको पदाधिकारी हुन पाउने व्यवस्था गरेको छ”, उहाँले भन्नुभयो, “उहाँ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य पनि रहेको उजुरीकर्ताले समावेश गरेपछि निर्वाचन आयोगसँग उहाँ कुनै पार्टीको सदस्य हुनुहुन्छ वा हुनुहुन्न भन्ने जानकारी माग्नेछौ ।” शैक्षिक प्रमाणपत्रबारे संवैधानिक परिषद्सँग आवश्यक कागजात माग गरेर हेर्ने बताइएको छ ।

बैठकमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष डा बालानन्द शर्मा र राष्ट्रिय समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा शान्ताराज सुवेदीको सुनुवाइ शुरु भएको छ । समितिका सदस्यले दुवै प्रस्तावित अध्यक्षसँग आयोग सञ्चालनका सम्बन्धमा कार्ययोजना माग गर्नुभएको थियो । प्राकृतिक वित्त आयोगका प्रस्तावित अध्यक्ष पौडेललाई समितिका सदस्य राजेन्द्र श्रेष्ठ, पार्वत गुरुङ, योगेश भट्टराई र पूर्णाकुमारी सुवेदीले कार्यक्षमतामाथि प्रश्न गर्नुभएको थियो ।

जवाफमा प्रस्तावित अध्यक्ष पौडेलले मुलुक सङ्घीयतमा गइसकेकाले सङ्घ, प्रदेश र स्थानीय तहको बीचको वित्त र राजश्व बाँडफाँटलाई ध्यान दिने बताउनुभयो । यस्तै समावेशी आयोगका प्रस्तावित अध्यक्ष डा सुवेदीलाई सुरेन्द्र पाण्डे, योगेश भट्टराईले प्रश्न गर्नुभएको थियो ।

डा सुवेदीले आफू लामो समय निजामती सेवामा काम गरेको हुनाले समावेशीबारे राम्रो जानकार भएकाले व्यावसायिकता र इमान्दारिताका साथ काम गर्ने बताउनुभयो । उहाँले समावेशी आयोगले दलित, थारू, मुस्लिम, मानव अधिकार आयोगसँग पनि सम्बन्धित भएकाले ती आयोगसँग पनि समन्वय गरेर जाने बताउनुभयो ।

उहाँले मुलुकको समावेशी चरित्र अनुसार मुलुकलाई समृद्धितिर लैजाने धारणा राख्नुभयो । दुई जना प्रस्तावित अध्यक्षमाथि भने समितिमा उजुरी परेको थिएन । सभापति कर्णले ९ गते बस्ने बैठकमा थप छलफल गरिने बताउनुभयो । समितिको आजको बैठक नेपाली काङ्ग्रेसका सदस्यले बहिष्कार गर्नुभएको थियो । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्