काठमाडौं, ७ फागुन २०७५ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा अभूतपूर्व उपलब्धिहरु हासिल गरेको बताउनुभएको छ । ६९औं प्रजातन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देस जारी गर्दै उहाँले आजको दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

२००७ साल फागुन ७ गतेका दिन निरङ्‌कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेको स्मरण गर्दै सन्देसमा भनिएको छ, ‘प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धिहरु हासिल गरेका छौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो।’

उहाँले नेपालको संविधान कार्यान्वयनको क्रममा रहेकोले सम्पूर्ण नेपालीको ुसमृद्ध नेपाल सुखी नेपालीुको राष्ट्रिय आकांक्षा पूरा गर्न फागुन ७ ले सबैमा थप उर्जा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

‘६९औँ प्रजातन्त्र दिवस मनाइरहँदा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात(अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस दिवसले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ सन्देसमा भनिएको छ।

यसैबीच उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गर्नुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले शुभकामना सन्देस दिँदै प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

राजनीतिक सङ्क्रमण अन्त्य भई देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अगाडि बढिरहेको छ भन्दै उहाँले राष्ट्रियता, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपालको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै समृद्ध नेपाल निर्माण गर्नेतर्फ सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्