चितवन, २९ माघ २०७५ । अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछी नेपाल विद्यार्थी संघभित्रको विवाद छ्ताछुल्ल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफुहरुसङ्ग सल्लाह समेत नगरी अध्यक्ष महरलाई राजीनामा गर्न लगाएको भन्दै पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले तिब्र असन्तुष्टि जनाएपछी संगठनभित्रको विवाद छताछुल्ल भएको हो ।

संघको महाधिवेशनका बेला देउवा र सिटौला पक्ष एकातिर र पौडेल पक्ष अर्कोतिर भएर चुनाव लडेका थिए । पार्टीको महाधिवेशन र संघको अधिवेशनताका लगाएको गुन सभापति देउवाले बिर्सिएको भन्दै सिटौला पक्षीय नेताहरुले नेतृत्वको निरङ्कुसता विरुद्ध लड्ने उद्घोष समेत गरेका छन ।

ने.बि.संघका महामन्त्री कुन्दनराज काफ्लेले संगठनभित्र आन्तरिक लोकन्त्रको लडाई पुन: आरम्भ भएको घोषणा गर्नुभयो । देउवा र पौडेलको योजना अनुसार ने.बि.संघलाई कुनै अमुक समुहको भजनमण्डली बनाउन महरले अध्यक्षबाट राजिनामा दिएको आरोप महामन्त्री काफ्लेको छ ।

संगठनलाई “भजनमण्डलि” बनाईदैछ भन्ने सुईको पाएर पनि त्यसमा सहयोगी बन्न राजिनामा दिनु महरको गलत कदम भएको महामन्त्री काफ्लेको तर्क छ । मुख्य दोषी देउवा र पौडेल भएको जिकिर गर्दै काफ्लेले महर प्रतिनिधि पात्र मात्रै भएको दाबी गर्नुभयो । पार्टीले दिएको बिधान अनुसार महाधिवेशनको करिब ६० प्रतिशत काम सकिएको अवस्थामा अध्यक्षले राजीनामामा दिनु तदर्थबादको प्रस्थान बिन्दु मात्रै भएको महामन्त्री काफ्लेको बुझाई छ ।

महरको राजीनामापछि संगठन अब लामो समयसम्म तदर्थबादमै अघि बढ्ने निश्चित भएको महामन्त्री काफ्लेले ठोकुवा गर्नुभयो । पार्टी नेतृत्वले महाधिवेशन भएको २ बर्षसम्म वर्तमान कार्यसमितिलाई बिधान बनाउन समेत रोक लगाएको जिकिर गर्दै काफ्लेले बिधान प्राप्त भएपछी रफ्तारमा कम गर्दा छेकबार गरिएको गुनासो गर्नुभयो ।

स्ववियु चुनावमा भाग लिनुपर्छ
महामन्त्री काफ्लेले स्ववियु चुनावमा ने.बि.संघ सहभागी हुनुपर्नेमा जोड दिनुभयो । केहिदिनअघि पार्टी सभापति देउवाले स्ववियु चुनावमा ने.बि.संघले भाग नलिने बताएकोतर्फ संकेत गर्दै काफ्लेले कसैको मनसुबा पूरा गर्नकै लागि चुनाबबाट भाग्नु दु:खद हुने बताउनुभयो । आशन्न स्ववियु चुनावका लागि ने.बि.संका उम्मेदवार अहिल्ले कायम ईकाईले नै चयन गर्ने महामन्त्री काफ्लेले स्पष्ट पार्नुभयो । यसअघि सोमबार नै अध्यक्ष महरले पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिनुभएको थियो । कालिका न्युज

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्