ललितपुर, २५ माघ २०७५ । ‘स्वच्छता मेरो पहिचान : सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बागमती सरसफाइ महाअभियानको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

आगामी शनिबार बिहान ८ः३० बजे बागमती मनोहरा दोभानको शंखमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

५ जेठ ०७० देखि संस्थागत रूपमा बागमती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बागमती नदीमा मात्रै केन्द्रित सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती (धोबीखोला), नख्खु, कर्मनाशा (कोडकु), इन्द्रमती (बल्खु), मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २००औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो ।

यस अवधिमा करिब १८ हजार मेट्रिक टन फोहोर उठाइसकिएकोे छ । यस कार्यमा एक हजार ८५० संघसंस्था आबद्ध रही करिब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।

शहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इस्तियाक राईले बागमती सरसफाइ महाअभियानको ३००औँ हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आह्वान गरे ।

मनत्री राईका अनुसार सो अवसरमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथग्रहण गराउने, अभियानकर्मीलाई सम्मान गर्नेलगायतका कार्यक्रम रहेको छ ।

सोही दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । बागमती सफाइ महाअभियानसँगै बागमती र सहायक नदीहरूको ढल निर्माणकार्य, उद्यान निर्माण तथा सौर्यबत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बागमती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री राईले देशभरका नदी संरक्षण गर्न शहरी विकास मन्त्रालयले ध्यान दिएको बताए । बागमती सफाइ महाअभियानका अभियानकर्मी डा. राजु अधिकारीले नदी संरक्षण गर्न नदी आयोग गठन गर्न माग गरे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्