काठमाडौं, २१ माघ २०७५ । नेपाली कांग्रेसले सरकारको विरोधमा आज ७७ जिल्लामा शक्ति प्रदर्शन गर्ने भएको छ। विरोध प्रदर्शनका लागि अधिकांश शीर्ष तहका नेताहरू आफ्नो गृह पुगिसकेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन्। महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन् । चितवनको सभा अहिलेसम्मकै विशाल हुने प्रवक्ता शर्माले दाबी गर्नुभयो । अर्का नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन् । युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुन सोमबार बिहान जाँदैछन् ।

पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्कस्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ।

सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए। उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टा छुट्टै कार्यक्रम गर्नेछन् । सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विरोध प्रदर्शनमा कांग्रेसले उठाउने मुद्धाहरु:

१ संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा। गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार ।

२ स्वर्गीय नेताहरू— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी।पी। कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको असफल प्रयास ।

३ प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक डाकेर नियुक्तिका घटना ।

४ देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल भएको मुद्धा ।

५ महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।

६ जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।

७‍‍। वाइडबडी जहाज खरिदमा भएको अर्बौंको घोटालाबारे गम्भीर ढंगले गहिरो छानबिन गर्न आवाज उठाउने।

८‍ नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको बुढी गण्डकी बहुउदेश्यीय परियोजनाबिना प्रतिष्पर्धा विदेशी कम्पनीलाई सुम्पिनुका पछिल्तिर, के रहस्य लुकेको छ ?

९ आवश्यकता भन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय ।

१० ३३ किलो सुन काण्डमा ‘ठुला माछा’ सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ती ठूला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ?

११ प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक बजार मूल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचार ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्