काठमाडौँ, मंगलबार, १९ साउन २०७८ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचन कार्यतालिका छोटो अवधिमै सकेर पूर्वनिर्धारित कार्यतालिकामै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने भएको छ ।

वडा, गाउँपालिका/नगरपालिका, प्रदेश, सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशस्तरको अधिवेशनको अन्तर एक/दुई दिन मात्रै राखेर भए पनि समयमै अधिवेशन गरिने काँग्रेसले जनाएको छ । काँग्रेसले भदौ १६ गते १४औँ केन्द्रीय महाधिवेशन शुभारम्भ गर्ने तय गरेको छ ।

कार्यतालिका समय छोटो हुने

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विभिन्न तहको अधिवेशन हुने दिनलाई छोट्याएर कार्यतालिका छोटो बनाउने जानकारी दिए। अब वडा र पालिकास्तरको अधिवेशन सम्भव भएसम्म एकै दिन र नभए एक दिन मात्र फरक गरिनेछ । यसअघिको कार्यतालिकामा वडा र पालिकास्तरको अधिवेशनमा चार दिनको फरक थियो । यसका साथै जिल्ला र प्रदेशस्तरमा हुने फरक पनि छोट्याइनेछ ।

जिल्लामा पनि प्रदेश निर्वाचन क्षेत्र, सङ्घीय निर्वाचनको क्षेत्र र जिल्ला अधिवेशनमा एक/दुई दिनकै फरकमा गरिनेछ । स्थानीयस्तरको पार्टीको संरचनाको अधिवेशनमा लाग्ने दिन छोट्याउन सके निर्धारित समयमै अधिवेशन गर्न सकिने विश्वास लिइएको छ ।

दुई दिनभित्र क्रियाशील टुङ्गो
पार्टीले क्रियाशील सदस्यताका बारेमा देखिएको विवादको किनारा ढिलोमा दुई दिनभित्र टुङ्गो लगाउने भएको छ । मुख्य सचिव पौडेलले शीर्ष नेताहरूले यसमा आवश्यक काम गरिरहनुभएको जानकारी दिँदै ढिलोमा दुई दिनभित्र सबै विवाद समाधान गरिने जानकारी दिए। यसअघि बसेको पार्टी पदाधिकारी बैठकले क्रियाशील सदस्यताका बारेमा बाँकी रहेको विवाद मिलाउने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको छानबिन समितिले साउन १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई छानबिन समितिको अन्तिम प्रतिवेदन बुझाएको थियो । छानबिन समितिले धनुषा, सर्लाही, बारा र सप्तरी गरी चारवटा जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेन । पार्टी समायोजनका क्रममा वितरण गरिएको क्रियाशील सदस्यताका कारण सिन्धुपाल्चोक र रसुवा जिल्लाको विवादमा पनि छानबिन समिति निचोडमा पुग्न सकेको थिएन ।

यी सबै विवाद शीर्ष नेतृत्वले नै समाधान गर्ने गरी छानबिन समितिले प्रतिवेदन बुझाएको थियो । मुख्य सचिव पौडेलले अब क्रियाशील सदस्यताको सबै खाले विवाद समाधान गरी पार्टी महाधिवेशनमा जुट्ने बताए ।

पार्टीले क्रियाशील सदस्यताको विवाद निचोडमा पु-याउन नसक्दा साउन १२ का लागि तोकिएको वडास्तरीय र साउन १६ को पालिकास्तरको अधिवेशन स्थगित गर्ने निर्णय काँग्रेसले यसअघि नै गरिसकेको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्