काठमाडौं, १२ माघ २०७५ । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले जतनसँग आफूसँग लुकाएर राखेको ‘अधिनायकवादी चरित्र’ व्यवहारमार्फत उजागर गरेको बताएका छन् ।

विवादको विषय बन्दै आएको चिकित्सा शिक्षा विधेयक संसदमा ‘बलजफ्ती’ पारित गरिएपछि काङ्ग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेता शर्माले सदनको साझा नेताको भूमिकाबाट सभामुखले ‘स्वेच्छिक अवकाश’ लिएको आरोप समेत लगाए ।

विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति कम्युनिष्ट सरकारको निष्ठा कायमै रहेको पुष्टि भएको र सिङ्गो सदनको साझा नेताको भूमिकाबाट सभामुखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको उनले प्रष्ट्याए ।

गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दासम्म सम्वादको पहल नगरी प्रधानमन्त्रीले ‘मरे हुन्छ’ भन्ने प्रवृत्ति दर्शाएको जनाउँदै यसबाट प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढंगले ह्रास आएको प्रवक्ता शर्माले तर्क गरे ।

आफ्नो पार्टीले शुक्रबार चिकित्सा विधेयक बलजफ्ती रुपमा पारित गरिएको विषयलाई अत्यन्त गम्भीर ढङ्गले लिएको जनाउँदै उनले काङ्ग्रेस अब आन्दोलनमा उत्रने सङ्केत पनि दिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्