काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विवादित चिकित्सा शिक्षा विधेयकमा देखिएको समस्या समाधान गर्न तीन सुझाव दिएका छन्।

आज बिहान ट्विट गर्दै उनले ‘माथेमा कार्यदलको प्रतिवेदन बमोजिम अघि बढ्न, अघिल्लो सरकारको अध्यादेशमा टेक्न र डा केसीसँग आफैंले गरेको सम्झौता पालना गर्न’ सुझाव दिएका हुन्।

चिकित्सा शिक्षा विधेयक आज संसद्‌मा पेस हुँदैछ। सत्तापक्ष पेलेरै पारित गराउने रणनीतिमा रहेको छ भने प्रतिपक्षी नेपाली कांग्रसले ‘मुठभेड’को अवस्था आउन सक्ने संकेत दिएको छ। सरकारका प्रवक्ता गोकुल बाँस्कोटा र अर्का नेता योगेश भट्टराईको बुधबारको अभिव्यक्तिले विधेयकलाई ‘पेलेरै’ पास गर्ने रणनीति बनाएको देखिन्छ।

आज संसदमा रहने सभामुखको भूमिकालाई प्रवक्ता शर्माले ‘पूर्व शिक्षक’ हुने कि ‘पूर्व लडाकु’ भनेर प्रश्न गरेका छन्। उनको ट्विटमा उल्लेख छ, ‘आज के हुन्छ र के हुनुपर्छ त्यो सत्तापक्षको प्रस्तुति र सभामुखको व्यवहारमा निर्भर रहनेछ!’

एमाले नेता मनमोहन अधिकारीको नाममा स्वास्थ विज्ञान प्रतिष्ठान प्रस्ताव गर्दा सरकारमा कांग्रेस रहेको स्मरण गराउँदै उनले गिरिजाप्रसाद र सुशील कोइराला नामका रहेका अस्पताल नामेट गर्ने प्रयत्न गरिरहँदा आफूहरुको विरोध भएको प्रस्ट्याएका छन्।

लोकतन्त्र केवल बहुमतले शासन गर्ने प्रक्रिया मात्रै नभएकाले जब बहुमत र विवेकको प्रश्न आउँछ,जिम्मेवार सत्ता विवेकको पक्षमा उभिनुपर्ने शर्माको भनाइ छ।

‘हिटलरसँग बहुमत थियो, विवेकलाई बलि चढाएपछि उनको अवशेष बाँकी रहेनl बहुमत र विवेक कुन प्रधान?’ शर्माले प्रश्न गर्दै चेतावनीको शैलीमा भनेका छन्, ‘डा केसीका नाममा कात्रो उन्ने दुस्साहसले राजनैतिक `बुमर्‍याङ´ निम्त्याउने छ। नम्र भाषामा विनम्र चेतावनी… होसियार!’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्