सुर्खेत, असार ७ गते । कर्णालीका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्वद्र्धनका लागि कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउन लागेको छ । उनीहरुको संस्कृति र परम्परालाई जगेर्ना गर्दै सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउन लागेको हो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले लोपोन्मुख राउटे समुदाय कर्णालीको फरक परम्परा र संस्कृति बोकेको समुदाय भएकोले उनीहरुको संरक्षण गर्ने काम राज्यको भएकोले एकीकृत नीति बनाएर संरक्षण गर्न जरुरी देखिएको बताउनुभयो । उहाँले आगामी साउन महिनादेखि राउटेको एकीकृत नीति अनुसार काम गरिने जानकारी दिनुभयो ।

उहाँले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको हुँदा बस्ती प्रवेशमा निषेध गरिएको जानकारी दिदैं राहत वितरणमा पनि एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो ।

सुरक्षाको प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु एकीकृत नीतिभित्र समेटिने भन्दै उहाँले ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षणमा नीतिमार्फत मन्त्रालयले काम गर्ने जिकिर गर्नुभयो ।
मन्त्री विसीले पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौनजन्य घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्