काठमाडौँ, आइतबा। , ६ असार २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । प्रदेश–१ का आफूपक्षीय केन्द्रीय सदस्यहरूसँग देउवाले आफू आगामी महाधिवेशनमा उम्मेदवार बन्ने विचार गरेको भन्दै, सुझाव माग्नुभएको हो ।

‘संशोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ । म सभापतिमा फेरि लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । तीन तहको निर्वाचन गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं,’ देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेता मीन विश्वकर्माले बताउनुभयो, ‘अब म मेरै नेतृत्वमा यो पार्टीलार्ई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’

देउवाले पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको बताएको उहाँले बताउनुभयो । ‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउँछु भन्नुभयो,’ विश्वकर्माले भन्नुभयो ।

मुलुकको संकटकालीन अवस्थामा मैले पार्टीको नेतृत्व छोड्दा म असफल भएर बीचमै छाडेको देखिन्छ’ देउवाको भनाइ उद्धृत गर्दै विश्वकर्माले भन्नुभयोे, ‘पार्टीलाई फेरि सशक्त बनाएर संविधान र लोकतन्त्रलाई संस्थागत गरी अर्कोपटक नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुन्छ भन्ने मैले महसुस गरेँ ।’

‘अब अधिवेशन गर्नुको विकल्प छैन । संविधानतः हामीले महाधिवेशन गर्नैपर्छ । कठिनाइका बाबजुद पनि महाधिवेशन गर्नैपर्छ, यसको तयारीमा लाग्नुहोस्,’ देउवाको भनाइ थियो ।

देउवानिकट केन्द्रीय सदस्यहरूले पनि विधानले दुई कार्यकालको सुविधा दिएकाले कुनै गम्भीर प्रकृतिको अवस्था नआएसम्म सभापतिको दाबी नछोड्न सुझाएका थिए । विपक्षी खेमामा धेरै प्रतिस्पर्धी देखिनुले सभापतिमा दोहोरिने परिस्थिति सहजै बन्ने छलफलको निष्कर्ष थियो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्