काठमाडौँ, पुस १९ गते । काठमाडौंँ वसन्तपुरस्थित नौतले दरबारसँगै राजधानीका उपत्यकाका सम्पदा पुनःनिर्माणले गति लिन थालेको छ । गोरखा भूकम्प अर्थात् २०७२ वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण क्षतिग्रस्त भएका नौतले दरबारको छैटौँ तला भन्दा माथिको भाग, पूर्व र उत्तरपूर्वमा रहेका टावर निर्माण र जीर्णोद्वारको काम चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज (सीएसीएच)ले तीब्र गतिमा गरिरहेको छ ।

सन् २०१७ अक्टोबरबाट काम थालेको सीएसीएचले ५८ महिनामा सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम गरिरहेको हनुमानढोका दरबार संरक्षण विकास समितिका प्रवक्ता जयनारायण कार्कीले जानकारी दिनुभयो ।

जीर्णोद्धारका क्रममा ललितपुर टावर तल्लो भागदेखि कै जिर्णोद्धारको काम सम्पन्न भइसकेको छ । कीर्तिपुर टावरको आवश्यक मर्मतसम्भार पनि भइसकेको छ । भक्तपुर टावरको जीर्णोद्वारको कार्य ५० प्रतिशत सम्पन्न भइसकेको सीएसीएचले जनाएको छ । उक्त टावरमा अब काठका कामहरू बाँकी रहेका छन् ।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका जितिसकेपछि बिसं. १८२५ देखि १८३१ का बीचमा नौतले दरबार निर्माण गरेको इतिहास छ । काठका आकर्षक बुट्टासहितका झ्याल ढोका, टुँडालयुक्त सम्पदामा ७५ प्रतिशतसम्म पुरानै काठहरूको पुनःप्रयोग गरिएको छ भने बाँकी नयाँ काठहरूमा पनि पुरानाको जस्तै बुट्टा कुद्ने काम छाउनीस्थित सङ्ग्रहालयको परिसरमा गरिँदैआएको छ ।

नौतले दरबारको लागि हाल दैनिक ४० देखि ५० जना सिकर्मीले काठको काम गर्दै आएका छन् ।

बसन्तपुरमा नै रहेको गद्दी बैठक र नौतले दरबारकोबीचको भाग पुनःनिर्माण पनि हनुमानढोका दरबार संरक्षण विकास समितिले नै गर्दै आएको छ । त्यसको लागि चालु आर्थिक वर्षमा समितिले करिब ५० लाख रुपियाँ बजेट नियोजन गरेको छ । उक्त भवन निर्माण गर्नु पर्दा केही उत्खनन् कार्य समेत गरिएको समितिका प्रमुख अरुणा नकर्मीले बताउनुभयो ।

समितिले तलेजुको आधारपेटी र ती पेटीमा भएका चार ढोकाहरूको पुनःनिर्माण कार्य भइरहेको छ । मन्दिरको छानोको मर्मतको काम सम्पन्न भएको छ भने वरपरका १६ वटा साना मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्