दमौली, शनिबार, ७ चैत्र २०७७ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन गर्न घरवास सञ्चालन गरिएको हो ।

पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरवास सञ्चालन गरिएको अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए। पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए।

कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरवास सञ्चालन गरिएको छ । उक्त घरवासमा ४० बास बस्न सक्नेछन् । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरवासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्टलगायतका परिकार खुवाइने घरवास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिए ।

उक्त घरवासको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शुभारम्भ \गर्दै ग्रामीण पर्यटनबाट समृद्धि सम्भव भएको बताए। उनले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने आग्रह गरे ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरवासको भूमिका महत्वपूर्ण हुने जनाउँदै ऐतिहासिक एवं शहीद गाउँ तनहुँसुरको प्रवर्द्धनका लागि नगरपालिका जुटिरहेको बताए ।

“सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई मध्यनजर गर्दै घरवास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गरेको छ”, उनले भने ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । यहाँ रहेको ऐतिहासिक खड्गदेवी मन्दिरको केही दिन अगाडिबाट पुनःनिर्माण शुरु भएको छ । पुरातत्व विभागको रु ७० लाखको लागतमा खड्गदेवी मन्दिरको पुनःनिर्माण शुरुआत गरिएको हो ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभंश भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाई सरेर गएका छन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको रु पाँच करोड र व्यास नगरपालिकाको रु पाँच करोड गरी रु दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए ।

तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ ।

अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्