पोखरा, १४ पौष २०७५ । गुरुङ जातिको पर्व ल्होसारको दिन पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले दिएको यो पहिलो बिदा हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी उक्त दिन प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदाको निर्णय भएको जनाएका छन् ।

यसअघि जनैपूर्णिमा, तीज, इदमा बिदाको माग भए पनि प्रदेश सरकारले बेवास्ता गरेको थियो । गुरुङ जातिको बाक्लो बस्ती भएको गण्डकी प्रदेशमा तमु ल्होसारमा बिदा दिनुपर्ने चर्को माग थियो । यसअघि अन्य प्रदेश सरकारले बिदाको घोषणा गर्दा संघीय सरकार मातहतका जिल्ला प्रशासन लगायत कार्यालय सञ्चालनमा आएका थिए । प्रदेश नम्बर २ का आन्तरिक मामिला मन्त्रीले राष्ट्र बैंकको जनकपुरस्थित कार्यालयमै पुगेर तालाबन्दी गरेका थिए ।

त्यस्तै विवादबाट उम्किन गण्डकी सरकारले यसअघि बिदा घोषणा गरेको थिए । गत साता प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न अन्तर प्रदेश समन्वय परिषदको बैठकमा प्रदेशले दिएको बिदा संघ मातहतका कार्यालयले पनि मान्ने प्रस्ताव पारित भएपछि प्रदेश सरकारलाई सहज भएको हो ।

१ वर्षमा बढीमा ६ दिन बिदा घोषणा गर्न सक्ने संघीय कानुन छ । सोही अनुसार प्रदेश नम्बर २ ले वार्षिक क्यालेन्डर बनाएर बिदा दिँदै आएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्