पृथ्वी राजमार्गमा अवस्थित तनहुँको डुम्रेबाट करिब ४२ किलोमिटरको यात्रापछि लम्जुङको सदरमुकाम बेंसीसहर पुगिन्छ । यहाँबाट करिब २६ किमिको यात्रामा डाँडाकाँडाको रमाइलो र प्राकृतिक सौन्दर्य अवलोकन गर्दै घलेगाउँ टेकिन्छ । बेंसीसहरबाट उकालो लाग्दै गर्दा केही बाटो ग्राभेल गरिएको छ भने केही कच्ची पनि छ तर त्यति सहज भने छैन । पर्यटकका लागि यातायातको व्यवस्था पनि छ ।

सदरमुकाम बेंसीसहरबाट समयमै घलेगाउँ र भुजुङ गाउँसम्म पुग्ने यातायातको राम्रो प्रबन्ध छ । जिप तथा मिनीबसमा घलेगाउँ पुग्ने पर्यटकका लागि ३ सयदेखि ३५० रुपैयाँसम्म भाडा लाग्छ । घलेगाउँ पुग्ने सडक फराकिलो र ग्राभेल गरिएकाले यात्रा त्यति कष्टकर छैन । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने यो गाउँ करिब सात सय वर्ष पुरानो मानिन्छ ।

ग्रामीण परिवेश र होमस्टे
घलेगाउँ पुग्ने जो कोही रमाउने भनेकै ग्रामीण परिवेश र होमस्टेमै हो । घलेगाउँमा करिब १२० घरधुरी छन्, जसमा करिब ५ सय बढी बसोबास गर्छन् । घलेगाउँमा सबै घरमा होमस्टे छैन । १२० घरमध्ये ३१ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ । पर्यटन व्यवस्थापन समिति घलेगाउँका कार्यालय सचिव दीर्घ घलेका अनुसार पर्यटक घलेगाउँ आइसकेपछि समितिबाट दर्ता गराएर होमस्टेमा बस्न सकिनेछ ।

‘जो कोही पर्यटक आएपछि समितिमा आउनुहुन्छ अनि पर्यटक संख्या हेरेर होमस्टेमा पठाउँछौं,’ उनले भने ।
पर्यटकका लागि सहजकर्ता बनिदिएबापत र समिति सञ्चालनका लागि पर्यटन व्यवस्थापन समितिले पर्यटकसँग १५ प्रतिशत अतिरिक्त शुल्क लिने गर्दछ, जसले पर्यटकका लागि विभिन्न बुस्रर, जानकारीमूलक पुस्तक र बोर्डहरू राख्ने गर्छ । जसका कारण घलेगाउँ घुम्ने पर्यटकलाई सहजतासमेत हुन्छ ।

गाउँमा पुग्नेलाई टीका र फूलमाला पहि¥याएर गुरुङ संस्कृति झल्किने परम्परागत घाँटु, सोरठी, नृत्यमार्फत स्वागत गरिन्छ । बसाइ सम्पन्न भइसकेपछि जाने बेलामा समेत फूलमाला र टीका लगाई ‘पुनः आउनुहोला’ भन्दै सत्कार गर्ने प्रचलन रहेको स्थानीय गमबहादुर गुरुङ बताउँछन् । ठूलो समूहमा आउने र अझ बृहत् रूपमा सांस्कृतिक कार्यक्रममा रमाउन चाहनेका लागि ५ हजार लिएर पनि विशेष प्रकारको सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको उनले जानकारी दिए ।

हाल घलेगाउँ र भुजुङमा सञ्चालित होमस्टेलाई अन्य चार वडामा पनि विस्तार गरेर पर्यटनको दायरालाई अझ फराकिलो बनाउने र घलेगाउँलाई स्मार्ट भेलेज बनाउन परामर्श भइरहेकाले आगामी वर्षमा स्मार्ट भेलेज बनाउने तयारीमा जुटिरहेको क्ह्लोसोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले बताउछन् । उनका अनुसार घलेगाउँ पुग्ने बाटो पिच गर्ने कार्य अगाडि बढिरहेको र यही वर्षभित्र चार किमिसम्म पिच गरिने र अरू एक–दुई वर्षमा थप सडक पिच गरेर पर्यटकलाई अझै सहज तरिकाले घलेगाउँ पु¥याउने तयारी छ ।

खानपान र बासस्थान
घलेगाउँ पुगेर रमाउने भनेकै होमस्टेमै हो । यहाँ होमस्टेमा बस्न त्यति महँगो पनि छैन । एक रातका लागि खानबस्न नेपालीका लागि करिब ८ सयदेखि १२÷१५ सयसम्म र विदेशीका लागि करिब १५ सयदेखि २ हजारसम्म लाग्छ । घलेगाउँ पुग्ने जो कोही होमस्टेमै रमाउने गर्दछन् । यद्यपि, होटल तथा रिर्सोटमा बस्न चाहनेका लागि पनि विकल्प भने छ तर यहाँ होमस्टे नै प्रमुख विशेषता भएकाले होटल र रिसोर्टमा थोरै पर्यटक मात्र पुग्ने गर्दछन् ।

रिसोर्टमा बस्न चाहने पर्यटकका लागि भने एक रातमा करिब २५ सयदेखि ३ हजारसम्म खर्च हुने कार्यालय सचिव घले बताउँछन् । होमस्टे सञ्चालनका लागि बनाइएका परम्परागत शैलीका घरले सबै पर्यटकको ध्यान तान्ने गरेको छ । पर्यटकले स्थानीयस्तरमै उत्पादित दाल, भात, तरकारी, ढिँडो, मकै, भटमास, लोकल खसी तथा कुखुराको मासु, सागसब्जी, लोकल रक्सी र तुम्बाको मज्जा लिन पाउँछन् ।

हिमालको काखमा आकर्षक गाउँ, स्वच्छ र प्राकृतिक वातावरण, स्थानीयपन, होमस्टेको मज्जा र गुरुङ संस्कृतिले निकै आनन्द महसुस हुने पर्यटक लोकेन्द्रबहादुर थापा बताउँछन् ।

मनमोहक हिमाल
घलेगाउँबाट देखिने आधा दर्जन हिमालले पर्यटकलाई आकर्षित गर्छ । कार्यालय सचिव घलेका अनुसार मौसम खुलेका बेला एकाबिहानै माछापुच्छ«े, अन्नपूर्ण, लम्जुङ, मनास्लु, हिमालचुली, बुद्ध हिमालसँगै सूर्योदयको दृश्यले पर्यटक लठ्ठ पर्छन् ।
गुरुङ संस्कृति चित्रण गर्ने सार्क भिलेज पर्यटन संग्रहालय, परम्परागत शैलीका घर, भ्युटावर र भेडीगोठले समेत पर्यटकको मन लोभ्याउँछ ।

यसका अलावा गुरुङ पोसाकमा रमाउन र फोटो खिचाउन चाहने पर्यटकका लागि एक घण्टाको सय रुपैयाँमा पोसाक प्रबन्ध हुन्छ । पदयात्रा पर्यटनको पनि सम्भावना बोकेको यो गाउँसँग तीनवटा पदयात्रा मार्गसमेत जोडिएका छन् । घलेगाउँ पुगेका अधिंकाश पर्यटक नजिकैको अर्को पर्यटकीय र मनमोहक भुजुङ गाउँ पुग्ने गर्दछन् ।

भुजुङ गाउँ
लम्जुङ क्ह्लोसोंथर गाउँपालिकाअन्तर्गत वडा–४ मा अवस्थित पर्यटकीय दृष्टिकोणले भरिपूर्ण अर्को पर्यटकीय गन्तव्य हो, भुजुङ गाउँ । ‘एक गाउँ एक गाविस’ ले चर्चित भुजुङ संघीयतापछि ‘एक गाउँ एक वडा’ का नामले प्रसिद्ध छ । घलेगाउँबाट करिब १० किलोमिटरको दूरीमा भुजुङ गाउँ पर्दछ ।

केही स्थानमा मोटरबाटो अलिक अप्ठ्यारो रहे पनि अधिकाशं कच्ची बाटो भएकाले सहज नै लाग्छ । अझ भुजुङ गाउँ पुग्नै लाग्दा ढुंगा छापेको बाटोले पनि पर्यटकको मन तान्छ ।परम्परागत शैलीका घरबाट सजिएको भुजुङमा करिब १५ सय जनसंख्या छ । प्रायः सबै गुरुङ समुदायका मानिस बसोवास गर्छन् । केही घर भने दलित समुदायको पनि रहेको छ ।

स्थानीय फुर्सदमा डोको, नाम्लो, डालो, मान्द्रो, घुम, भकारी, राडीपाखी, बख्खु, पुवाबाट थैलो, झोला, भांग्राजस्ता हस्तकलाका सामान बुन्ने गर्छन् । घलेगाउँ पुगेका जो कोही भुजुङ पुग्छन् । यसको पनि प्रमुख विशेषता होमस्टे नै हो ।

यहाँका २२ वटा घर होमस्टे सञ्चालनका लागि दर्ता भए पनि १७ घरमा मात्र होमस्टे सञ्चालन भइरहेको भुजुङ गाउँ पर्यटन व्यवस्थापन उपसमिति व्यवस्थापक सुकबहादुर गुरुङले जानकारी दिए । आफूहरूको गाउँमा अर्गानिक खानेकुरा, लोकल रक्सी, छ्याङ, तुम्बा, लोकल सुकुटी, ढिँडो, स्थानीय स्तरमै उत्पादित चामलको खाना, मकैलगायतका परिकारमा पर्यटक औधी रमाउने गरेको होमस्टे सञ्चालक स्थानीय टेकबहादुर गुरुङ बताउँछन् ।

ग्रामीण पर्यटन र टिपिकट गाउँको अवलोकन गर्न चाहनेका लागि भुजुङ छुटाउनै नहुने गन्तव्य रहेको पर्यटक र स्थानीय बताउँछन् । घलेगाउँमा हिमाल र अन्य विविध पक्षको अवलोकन गर्न पाए पनि पर्यटकीय गाउँका हिसाबले अझ रमाइलो र टिपिकल भुजुङ गाउँ रहेको एक आन्तरिक पर्यटकले बताए ।

होमस्टेमा बस्ने र खाने व्यवस्था भुजुङमा पनि रहेको छ । जसका लागि दुई गाउँको रकममा खासै भिन्नता पनि छैन । ‘न्याय नपाए गोर्खा जानू, संस्कृति खोज्न भुजुङ जानू’ भनेझैं यस गाउँमा गुरुङको परम्परागत रीतिरिवाज, वेशभूषा, भाषा, संस्कृति र पहिचानले मन जित्छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्