काठमाडौँ, २७ मङ्सिर २०७५ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले मोफसलमा सञ्चालन हुने २३ वटा गोल्डकप फुटबल प्रतियोगिताको वर्गीकरण गर्नुका साथै खेल तालिका निर्धारण गरेको छ ।

मोफसलमा हुने प्रतियोगिताहरूलाई व्यवस्थित बनाउन एन्फाले प्रतियोगिता हुने मितिसमेत तय गरेको हो । विभिन्न जिल्ला तथा प्रतियोगिता आयोजकले प्रतियोगिता आयोजनाको मिति उपलब्ध गराउन माग गर्दै एन्फामा अनुरोध गरेपछि एन्फाले २३ वटा प्रतियोगिताको समयतालिका आज सार्वजनिक गरेको हो ।

एन्फाकाअनुसार जारी ए डिभिजन लिग फुटबल सकिएलगत्तै मोफसलमा गोल्डकप प्रतियोगिताहरू शुरु हुनेछन् । आगामी पुसको तेस्रो सातबाट शुरु हुने फुटबल गोल्डकप आगामी वैशाखको तेस्रो सातासम्म चल्नेछ ।

मोफसलमा हुने गोल्डकपलाई नियमित र व्यवस्थित बनाउन भन्दै एन्फाले दुई श्रेणीमा प्रतियोगिताको वर्गीकरण मापदण्ड तयार गरेको छ । एन्फा उपाध्यक्ष कृष्ण थापा नेतृत्वको स्तर निर्धारण समितिले प्रतियोगिताको मापदण्ड तोकेको हो ।

प्रतियोगिता सञ्चालनका लागि स्वीकृत लिएका आयोजकले मापदण्डका आधारमा प्रतियोगिताको श्रेणी प्राप्त गर्नेछन् । एन्फाले तय गरेको मापदण्ड पालन भए नभएकाबारे अनुगमन गरिने प्रवक्ता किरण राईले जानकारी दिनुभयो । एन्फाले ‘क’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङ्गशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने र स्थायी वा अस्थायी प्यारापिटको व्यवस्था हुनपर्ने मापदण्ड तय गरेको छ ।

प्रतियोगितामा कम्तीमा १० टोली सहभागी गराउनुपर्ने र त्यसमा कम्तीमा छ वटा ‘ए’ डिभिजन क्लबले खेल्नुपर्नेछ । आवश्यक प्राविधिक जनशक्ति प्रतियोगिताका लागि तयार गर्नुपर्ने, टिकट बिक्रीबाट उठेको तीन प्रतिशत रकम एन्फामा बुझाउनुपर्ने र खेल मैदानमा एम्बुलेन्सको व्यवस्था हुनुपर्नेलगायतका मापदण्ड बनाएको छ ।

त्यस्तै एन्फाले ‘बी’ श्रेणीको प्रतियोगिताको मान्यता पाउन रङगशाला वा स्तरीय मैदानलाई तार जाली गरेको हुनुपर्ने, कम्तीमा आठ टोली सहभागी हुनुपर्ने र ‘ए’ डिभिजनका चार क्लबले खेल्नुपर्नेलगायत मापदण्ड तोकेको प्रवक्ता राईले उल्लेख गर्नुभयो ।

यस्तो छ समय तालिका

एन्फाले सार्वजनिक गरेको प्रतियोगिता र समय तालिकाअनुसार आगामी पुस २१ गतेदेखि २९ सम्म पाँचथरको फिदिममा ११ औँ फाल्गुनन्द गोल्डकप, पुस २४ गतेदेखि माघ ५ सम्म कैलालीको धनगढीमा तेस्रो सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप, पुस २४ देखि माघ ५ सम्म वीरगञ्जमा दोस्रो विशाल मेमोरियल गोल्डकप हुनेछ ।

एन्फाका अनुसार माघ ३ देखि १२ सम्म बाराको सिमरामा १० औँ सिमरा गोल्डकप र माघ ११ गतेदेखि १८ गतेसम्म सुनसरीको इटहरीमा मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुनेछ । यसअघि मदनभण्डारी गोल्डकप काठमाडौँमा आयोजना गर्ने भनिए पनि रङ्गशाला निर्माणको काम नसकिएकाले इटहरीमा गर्न लागिएको हो ।

माघ १५ देखि २६ गतेसम्म पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, माघ १८ देखि २७ सम्म झापामा प्रथम धैलाशुब्बा गोल्डकप र माघ २० देखि २८ गतेसम्म धनकुटामा १४ औँ शहिद भीमनारायण गोल्डकप हुनेछ ।

यस्तै माघ २६ देखि फागुन ४ गतेसम्म धरानमा २१ औँ बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप, माघ २९ देखि फागुन ११ गतेसम्म कास्कीको पोखरामा १७ औँ आहा रारा गोल्डकप, फागुन ४ देखि ११ गतेसम्म सुनसरीको दुहवीमा तेस्रो मनमोहन दुहबी गोल्डकप, फागुन ७ देखि १८ गतेसम्म बुटबलमा २१ औँ तिलोत्तमा गोल्डकप, फागुन १५ देखि २५ गतेसम्म झापाको बिर्तामोडमा चौथो झापा गोल्डकप र फागुन २३ देखि चैत २ गतेसम्म पाँचौ माइभ्याली गोल्डकप इलाममा हुने एन्फाले जनाएको छ ।

यसैगरी फागुन २५ देखि चैत २ गतेसम्म चितवनको नारायणगढमा १४ औं विकास शिल्ड फुटबल प्रतियोगिता, फागुन २९ देखि चैत ९ गतेसम्म हेटौंडामा तेस्रो हेटौँडा गोल्डकप, चैत ७ देखि १७ गतेसम्म मोरङको विराटनगरमा विराट गोल्डकप, चैत १५ देखि २४ गतेसम्म उदयपुर गोल्डकप
हुने एन्फाले जनाएको छ ।

यसैगरी चैत १८ देखि २७ गतेसम्म चौथो नेपालगञ्ज गोल्डकप, चैत २२ देखि ३० गतेसम्म नुवाकोट गोल्डकप, चैत २५ देखि वैशाख ५ गतेसम्म सर्लाहीको लालबन्दीमा राजर्षी जनक गोल्डकप, वैशाख १ देखि १० गतेसम्म दोस्रो दमक गोल्डकप र वैशाख १२ देखि २१ गतेसम्म झापाको काँकडभिट्टामा चौथो मेचीनगर गोल्डकप हुनेछ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्