काठमाडौं, मंसिर १५ । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आउनु भएकी म्यानमारकी विदेश मन्त्री आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेनले विश्वमञ्चमा नेपाललाई आफ्नो पक्षमा पार्न पहल थाल्नुभएको छ । दुवै नेताले विश्वमञ्चमा नेपालको साथ खोजेका हुन ।

सुकी र हुन सेनले औपचारिक छलफल मात्रै होइन, दुईपक्षीय सम्झौता समेत गरी विश्वमञ्चमा नेपालको साथ चाहेका हुन्। हुन सेन र सुकीले बेग्लाबेग्लै दुईपक्षीय र शिष्टाचार भेटवार्ता पनि गर्नुभएको छ । लामो समयसम्म लोकप्रिय रहेकी सुकी अहिले रोहिंज्या शरणार्थी समस्याका कारण आलोचनामा मात्र होइन, मानवअधिकारका क्षेत्रमा आलोचित र अलोकप्रिय बन्दै जानुभएको छ । उहाँले आलोचनाको घेराबाट माथि उठ्न नेपालको साथ खोज्नुभएको कुटनीतिक स्रोतको भनाई छ ।

नेपाल राष्ट्र संघीय मानवअधिकार परिषद्को सदस्य भएकाले उहाँले आफ्नो पक्षमा नेपालसँग लविङ गर्नुभएको हो । म्यानमारका रोहिंज्याहरू नेपालमा समेत शरण लिन आइपुगेका छन्। यो संख्या बढ्दो छ। म्यानमारलाई साथ दिंदै नेपाल राष्ट्रसंघमा रोहिंज्याको विषयमा ‘तटस्थ’ बसेकोमा सुकी खुशी समेत बन्नुभयो । नेपालले भने आफू न म्यानमार, न बंगलादेशको पक्षमा रहेको भन्दै तटस्थता कायम गरेको बताउँदै आएको थियो। मानवअधिकारका दृष्टिमा नेपालले त्यस प्रसंगमा कुटनीतिक भूल गरेको टिप्पणी समेत विज्ञहरूले गरेका थिए।

सुकी आईएनजीओको सम्मेलनमा आएको भए पनि सरकारले आपसी हितका विषयमा छलफल भएको बताएको छ। प्रधानमन्त्री केपी ओली र उहाँको सल्लाहकार समूह सम्मेलनका लागि खटेको छ । सरकारले विविध विषयमा छलफल गरेको बताए पनि रोहिंज्याबारे के छलफल भयो भन्ने अझै स्पष्ट नभएको ती अधिकारीले बताए। औपचारिक विज्ञप्तिमा नेपालमा रहेका रोहिंज्याबारेमा जानकारी दिएको समेत राखिएको छैन। ‘प्रधानमन्त्रीले सुकीसँग एक्लाएक्लै छलफल गरेकाले त्यहाँ उठाएको भए जानकारी भएन’, परराष्ट्रका एक अधिकारी भन्छन ।

प्रधानमन्त्री ओलीले खमेरुजका पूर्वलडाकु नेता तथा कम्बोडियाली प्रधानमन्त्री हुन सेनसँग बिहीबार साँझ आधा घण्टाभन्दा बढी एक्लाएक्लै वार्ता गर्नुभयो । त्यसपछि मात्रै प्रतिनिधि मण्डलस्तरीय छलफल भएको बताइएको छ। छलफलमा दुई मुलुकको सम्बन्ध, आपसी हित र द्विपक्षीय चासो एवं नेपालको शान्ति प्रक्रिया, वर्तमान सरकारको प्राथमिकतालगायत विषय उठेको थियो।

दुई मुलुकबीच पर्यटन प्रवद्र्धन, तथा आगामी दिनमा गर्न सकिने सहकार्यका विविध क्षेत्रबारेमा पनि छलफल भएको थियो। नेपाल र कम्बोडियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने विषयमा समझदारी भएको छ। समझदारीपत्रमा परराष्ट्रमन्त्री ज्ञवाली र कम्बोडियाका उपप्रधान तथा परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री पार्क सोख्खेनबीच हस्ताक्षर भएको छ।

संयन्त्रले दुई देशका साझा चासो र हितका विषयमा साझा धारणा बनाउने र कूटनीतिक तथा सरकारी राहदानी वाहकलार्ई प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता गरेका छन्। कम्बोडियाका बौद्धमार्गीलाई नेपाल भ्रमण गराउन हवाइसम्झौता भएको बताइएको छ। यस्तै सुकी र सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्