काठमाडौँ, मङसिर ८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ । गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको थिएन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले शनिबार बस्ने अर्को बैठकबाट सदस्यहरुको कार्यविभाजनबारे निर्णय लिने प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बताउनुभयो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टी एकता भएको छ महिना पूरा हुँदासमेत पार्टीको तल्लो तहसम्म एकता प्रक्रियाले गति लिन नसक्दा गत कात्तिक ८ गते बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले पार्टीको सांगठनिक एकतासम्बन्धी गृहकार्य गरी विहिबारको बैठकमा प्रतिवेदन प्रस्तुत गरेपछि सो प्रतिवेदनमाथि शुक्रबारबाट छलफल सुरु भएको छ ।

पार्टीका प्रवक्ता श्रेष्ठका अनुसार बैठकले विशेष प्रदेश कमिटी गठन गर्ने निर्णय पनि गरेको छ । कार्यदलले गरेको प्रस्तावका आधारमा छलफल सुरु भए पनि त्यसबारे निर्णय भने स्थायी कमिटी बैठकले गर्ने नेता श्रेष्ठले बताउनुभयो । नेकपाको स्थायी कमिटी बैठक नबसेको पनि लामो समय भइसकेको छ । गत साउनयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । शनिबारको सचिवालय बैठकले बैठकको मिति तोक्नेबारे निर्णय लिने उहाँले बताउनुभयो ।

कार्यदलले दुईसय सदस्यीय विशेष प्रदेश कमिटी गठन गर्ने प्रतिवेदनमा प्रस्ताव गरेको छ । तर त्यसमाथि आवश्यक छलफल गरी स्थायी कमिटी बैठकले सोबारे अन्तिम निर्णय गर्ने बताइएको छ । विशेष प्रदेश कमिटी मातहत रहने गरी विशेष काठमाडौँ जिल्ला कमिटी गठन गर्ने निर्णय पनि शुक्रबारको सचिवालय बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नेगरी अनुमोदन गर्ने नेता श्रेष्ठले बताउनुभयो । केन्द्रीय कमिटीका सदस्यहरुले केन्द्रीय कमिटीको बैठकका लागि हस्ताक्षर अभियान मार्फत नेतृत्वलाई दवाव दिइरहेका बेला सचिवालयको बैठक नियमित बस्न सुरु भएको छ । सचिवालयको अर्को बैठक शनिबार अपरान्ह ४ बजे बस्ने नेता श्रेष्ठले बताउनुभयो ।
यसअघि कात्तिक ४ र ५ गते बसेको सचिवालय बैठकले पार्टीको प्रदेश इन्चार्ज, सहइन्चार्ज, जिल्ला अध्यक्ष, उपाध्यक्ष र सचिवबारे निर्णय गरेपछि नेता माधवकुमार नेपाल र नेता श्रेष्ठले आपत्ति जनाउनुभएको थियो । उहाँहरु दुवैजना सो अवधिमा विदेश भ्रमणमा रहनुभएको थियो । आफूहरुको अनुपस्थितिमा गरिएको निर्णयमा पुनःविचार हुनुपर्ने माग दुवै नेताको थियो । तर सचिवालयमा भएको अर्को छलफलले त्यसमा पुनःविचार नहुने निर्णय गरेको थियो ।

त्यस्तै, पार्टीभित्र एक व्यक्ति एक पदको वहस चले पनि सोबारे निर्णय अझै सो दलले गर्न सकेको छैन । सो नारालाई व्यवहारमा कार्यान्वयन गर्न निकै चुनौति रहेको बुझाई नेकपाका नेताहरुको छ । स्थायी कमिटी सदस्य शङकर पोखरेल र पृथ्वीसुब्बा गुरुङ क्रमशः प्रदेश ५ र प्रदेश ४ को मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको छ । त्यसको पनि पार्टी पंक्तिभित्र विरोध र वहस भएको थियो ।
नौ सदस्यीय सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र विष्णु पौडेल रहनुभएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्