२ मंसिर । वीरेन्द्रनगर नगरपालीका १ सुर्खेतमा बस्दै आएका विवेक अधिकारी बिदा मनाउन प्राय वीरेन्द्रनगर १० मा रहेको थारु होमस्टेमा जाने गर्दछन् । उनलाई सुविधा सम्पन्न होटेलहरु भन्दा पारिवारीक मायाँ पाईने र अर्गानिक परिकार खान पाईने गाउँको एकान्त ठांउ मनपर्छ ।

भन्छन् ‘कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस्तो खालको होमस्टे पहिलो हो । यसमा आनन्द लिन र विदाको समय विताउन म आएको हुँ ।’ थारु परिकारको स्वाद लिन पनि पाईने र एक प्रकारको शान्ति पाइो भएकोले होमस्टेमा आउने गरेको उनले बताए ।

शहर बजारका रेस्टुरेन्ट र होटेलको भन्दा छुटै स्वाद चखाउन, थारु परम्परा र संस्कृति जोगाउनका निम्ति कर्णाली प्रदेशको वीरेन्द्रनगर १० नयाँगाउँ स्थित थारु समुदायले कर्णाली प्रदेश थारु होमस्टे स्थापना गरेको छ ।

आधुनिकताले थिचेपछि लोप हुने अवस्थामा रहेको थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको थारु अगुवाहरु बताउँछन् ।

स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटनका माध्यमबाट समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने उदेश्यले होमस्टे सञ्चालनमा ल्याइएको सञ्चालक जितबहादुर चौधरीले बताए । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा खोलिइएको होमस्टे आकर्षणको केन्द्रबिन्दु बन्न सक्ने विश्वास व्यक्त गरे ।

जितबहादुरका अनुसार होमस्टेमा थारु परिकार ढिक्री, खाजा सेट, लोकल कुखुराको परिकार, घोघी, माछा, स्थानिय सेतो भेडाको परिकार, गङ्गटा लगाएतका परिकार पाइन्छन् ।

होमस्टेमा थारु परिकार खान थारु बाहेकका ग्राहक धेरै नै जाने गरेका छन् । होमस्टे पुर्ण रुपमा सञ्चालन नभइसकेको अवस्थामा पनि दैनिक ५० जना भन्दा बढि ग्राहक आउने गरको चौधरीको भनाई छ ।

उनी थप्छन् ‘हामीले विधिवत रुपमा माघ १ गते नै यो होमस्टेको उद्घाटन गर्ने तयारी गरेका छौं । तर आन्तरिक पर्यटकहरुले निर्माणाधिन अवस्थामा पनि सेवा सुविधा दिन आग्रह गरेपछि हामीले सेवा दिएका हौं ।?’

उनका अनुसार ९ जनाको लगानीमा अहिलेसम्म ४० लाख बराबरको लगानी भइसकेको छ । निर्माणको काम अझैं बाँकी छ । कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतमा मात्र थारु समुदाय रहेको छ । कर्णालीकै पहिलो थारु होमस्टे भएको संञ्चालक जितबहादुर चौधरीले जानकारी दिए ।

होमस्टेमा काम गर्दै आएकी वीरेन्द्रनगर नगरपालीका ११ की शान्ति चौधरीले होमस्टेबाट थारुजातीको संस्कृती मात्रै नभएर थारु युवा युवतीहरुले समेत रोजगारी पाएको बताईन् ।

उनले भनिन् ‘थारु जातीले नै सञ्चालन गरेको होमस्टेमा म जस्ता धेरै युवाहरुले घर जनिकै रोजगार पाएका छौं । एकातिर संस्कृती बचाउने र अर्कोतिर आर्थीक संम्वृद्धि समेत थारु होमस्टेबाट भएको छ ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्