भक्तपुर, कात्तिक १६ गते । उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरू बजारमा पाइए पनि माटाका पालाको महत्व घटेको छैन । भक्तपुरका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन व्यस्त छन् ।

भक्तपुर दरवार स्क्वायरका रामभक्त प्रजापती विहान उठेदेखि साँझसम्म माटोको दियो बनाउन व्यस्त हुनुहुन्छ । उहाँले दशैँ सकिए लगत्तै तिहारको लागि दियो बनाउन थाल्नुभएको हो । दियो बनाउँदैमा फुर्सद नपाउने ७० बर्षीय प्रजापतिले अरू बेला त्यति विक्री नहुने दियो तिहारको लागि भने धेरै विक्री हुने बताउनुभयो ।

रामभक्त मात्रै होइनन्, यो व्यवसाय गर्ने भक्तपुरका धेरै व्यवसायीहरु यतिबेला तिहारको लागि निकै व्यस्त भएका छन् । ‘लक्ष्मी पूजासम्म नै दियो बनाउँछौ’ प्रजापतिका कक्षा १२ मा अध्ययनरत नाति विकेश प्रजातिले भन्नुभयो । उहाँले यस बर्ष तिहारको लागि २५ हजार वटा दियो बनाउने बताउनुभयो ।

स्थानीयबासी रुजेश प्रजापतीले सिजनमा मात्र यस काममा व्यस्त हुने गरेको बताउनुभयो । स्नातक तहमा अध्ययनरत प्रजापतिले पुर्खोदेखि काम गदै आएको हुनाले आफूले पनि विगत १० वर्षदेखि माटोको काम गरेको बताउनुभयो । उहाँले बिजुलीबाट चक्र घुमाइने भएकोले काम छिटो हुन थालेको बताउनुभयो ।

परम्परागत चक्रमा दैनिक पाँचदेखि एक हजार दियो बनाउन सकिने तर बिजुलीबाट चक्र चलाउँदा भने दुई हजारभन्दा बढी बनाउन सकिने जानकारी दिनुभयो । भक्तपुर सिर्जनानगरका रञ्जित प्रजापती पनि तिहारको लागि अरु भाँडा बनाउन छोडेर माटोको दियो मात्र बनाउन व्यस्त हुनुहुन्छ । विगत १५ वर्षदेखि माटोको भाडाँ बनाउने पेशामा लाग्नुभएका उहाँले तिहारको लागि २५ देखि ७० हजार रुपियाँसम्मको दियो विक्री हुने बताउनुभयो । उहाँले तिहारको लागि दुई महिना अघिदेखि नै दियो बनाउन सुरु गर्नुभएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘ छोराछोरी सवैजना दशै अघिदेखि नै दियो बनाउने काममा व्यस्त छन् । दियो जति बनाए पनि तिहारमा विक्री गर्न समस्या छैन् ।’

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्