काठमाण्डौँ, असोज १८ । विभिन्न दृष्टिकोणले महत्वपूर्ण कागजातलाई अभिलेखका रुपमा व्यवस्थित एवं सुरक्षित तरिकाले राख्न स्थापना गरिएको राष्ट्रिय अभिलेखालयकै अभिलेखको अस्तित्व संकटमा परेको छ। मन्त्रिपरिषद्ले विसं २०७१ वैशाख २४ गते गरेको निर्णयअनुसार अभिलेखालय रहेको रामशाहपथस्थित भवन सर्वोच्च अदालतका लागि खाली गर्नुपर्नेछ। राष्ट्रियरुपमा महत्वपूर्ण दस्तावेज रहेको यो भवन सर्वोच्चको ग्यारेज बनाउन पटकपटक पत्राचार भइसकेको छ। मन्त्रिपरिषद्ले अभिलेखालयलाई नारायणहिटी दरबार संग्रहालयमा सार्ने निर्णय गरेको थियो।

हाल रहेको स्थानबाट सारिए अभिलेखका रुपमा राखिएका दस्तावेज सुरक्षित नरहने अभिलेखालयको ५१ औँ वार्षिकोत्सवका अवसरमा जानकारी गराइएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अभिलेखालयमा संग्रह गरिएका बहुमूल्य चीजबीज दुरुस्त हुने सुनिश्चित नभएसम्म कहीँ नसारिने प्रतिवद्धता जनाए। ‘यो विषयप्रति मन्त्रालयको गम्भीररुपमा ध्यानाकर्षण भएको छ, खेलाची तरिकाले अभिलेखालय सर्दैन, यो सार्नु अघि १०० चोटी सोच्नुपर्छ, अभिलेखालयलाई यहाँबाट नसार्न आवश्यक परे मन्त्रिपरिषद् बैठकमा पुनःविचारको प्रस्ताव लैजान्छु’, उनले भने।

अभिलेखालय अरुले सार्न लागेको भए सर्वोच्चले नसार्न फैसला गर्नुपर्नेमा आफैँ पटकपटक पत्राचार गर्नु गलत रहेको मन्त्री अधिकारीको भनाइ थियो। खोज गर्ने ज्ञान केन्द्रका रुपमा यसको विकास गरिनुपर्नेमा उनको जोड थियो। शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण संग्रह रहेको स्थलमा सर्वोच्चको ग्यारेज राख्ने विषय आपत्तिजनक रहेको बताए। अभिलेखालय हावापानी मिलाएर उपयुक्त स्थानमा बनाइएको छ, भूकम्प प्रतिरोधात्मक यो भवन अन्यत्र सार्दा यहाँका सामग्री रहँदैनन्, यसैले अन्त सार्ने कुरा मान्य हुन सक्दैन, ‘नवग्रन्थ’, ‘प्रज्ञापारमिता’ जस्ता दुर्लभ ग्रन्थ यहाँ छन्’, उनले भने।

सिल्भाँ लेभीले अभिलेखालयमै बसेर दुई भागको नेपालको इतिहास लेखेको शताब्दी पुरुष जोशीले स्मरण गरे। यहाँ बसेर अध्ययन गर्न चाहनेका लागि धेरै सामग्री एकै ठाउँमा जुटेकाले यसको संरक्षणमा सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो। मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले अभिलेख संरक्षण ऐन २०४६ र नियमावली २०६३ अनुसार ऐतिहासिक दस्तावेज संरक्षणका लागि अभिलेखालय सार्न नसकिने बताए। इतिहास र संस्कृतिको अध्ययनका लागि महत्वपूर्ण केन्द्रका रुपमा यसको विकास गरिनुपर्ने उनको भनाइ थियो।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले नेपालसम्बन्धी जानकारी लिने शोध केन्द्रका रुपमा रहेको अभिलेखालयले राजश्वसमेत राम्रो उठाइरहेको बताए। अभिलेखालयकी निमित्त प्रमुख सौभाग्य प्रधानाङ्गले २०२४ असोज १७ गते स्थापना भएको संस्थामा हाल पाँचौँ शताब्दीदेखिका ताडपत्र, भोजपत्र र नीलपत्रमा लेखिएका ३२ हजार हस्तलिखित ग्रन्थ रहेको जानकारी गराइन। दुई लाख पुस्तकको माइक्रोफिल्म गरी सुरक्षितरुपमा राखिएको उनको भनाइ छ।

अभिलेखालयले प्रकाशन गरेका पुस्तक, ऐतिहासिक दस्तावेजलगायत सामग्री बुधबारदेखि प्रदर्शनी शुरु गरिएको छ। प्रदर्शनी असोज २६ गतेसम्म जारी रहने जनाइएको छ। यहाँ धर्म, आयुर्वेद, ज्योतिष, तन्त्र आदि विषयका महत्वपूर्ण हस्तलिखित ग्रन्थ छन्। आठौँ शताब्दीको ‘सद्घर्मपुण्डरिक’, नवौँ शताब्दी शुरुवात ताकाको ‘स्कन्दपुराण’, सन् १३८० को जयस्थिति मल्लकालीन पहिलो लिखत कानूनका रुपमा रहेको ‘न्यायविकासिनी’ (मानवधर्म न्यायशास्त्र) जस्ता प्रसिद्ध हस्तलिखित ग्रन्थ पनि अभिलेखालयमा सुरक्षित छन्।

यसैगरी ऐतिहासिक सरकारी कागजात सनद, सवाल, लालमोहर, स्याहा मोहर, एकछापे, द्विछापे, सन्धि सम्झौता र नेपालको पहिलो समाचारपत्रका रुपमा रहेको गोरखापत्र, द राइजिङ नेपाल, निजामती कर्मचारीको अभिलेख सुरक्षित रहेको जनाइएको छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्