काठमाडौँ, असोज १६ गते । भाषा आयोगले लोपोन्मुख भाषाको वक्ता सङ्ख्या बृद्धि गर्न भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्ने भएको छ । आयोगले आगामी कात्तिकबाट कुसुण्डा, बराम र तिलुङ भाषामा कक्षा सञ्चालन गर्दैछ । राउटे र दुरा भाषामा पनि छिटै कक्षा सञ्चालन गर्ने भएको छ ।

आयोगका प्रवक्ता गणेश भट्टराईले वक्ता कम भएका भाषा लोप हुन थालेको र तिनको संरक्षणका लागि भाषिक अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । यस्तो कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तहसँग सम्झौता भइसकेको छ । कक्षा सञ्चालनको व्यवस्थापन स्थानीय तहले नै गर्नेछ ।

कुसुण्डा भाषा दाङमा, बराम भाषा गोर्खामा र तिलुङ् भाषा खोटाङमा बोलिन्छ । २०६८ सालको राष्ट्रिय जनगणनाले कुसुण्डाको जनसङ्ख्या २८ जना रहे पनि कुसुण्डा भाषा दुई जनाले मात्र बोल्ने गरेको देखाएको छ । त्यस्तै, बराम भाषी १५५ जना भए पनि ३५ जनाले मात्र बोल्न सक्छन् भने तिलुङ् भाषी एक हजार ४२४ जना रहे पनि तीन जनामात्र वक्ता छन् । राउटेको जनसङ्ख्या ४६१ मात्र छ तर कतिले बोल्न सक्छन् भन्ने थाहा हुन सकेको छैन । दुरा भाषी दुई हजार १५६ जना रहे पनि एक जनामात्र वक्ता छन् ।

प्रवक्ता भट्टराईका अनुसार कुसुण्डा भाषाका लागि दाङमा, बराम भाषाका लागि गोर्खामा र तिलुङ् भाषाका लागि खोटाङमा कक्षा सञ्चालन गरिँदैछ । प्रत्येक कक्षामा २० देखि ३० जना सहभागी हुनेछन् । सहभागीका लागि तीन महिने अर्थात् ९० घण्टाको पाठ्यक्रम तयार गरिएको छ । पाठ्यक्रमअनुसार कुल पाठ्यभारको ६० प्रतिशत सुनाइ र बोलाइ, ३० प्रतिशत पढाइ तथा १० प्रतिशत लेखाइलाई छुट्टयाइएको छ । कुसुन्डा भाषा अध्यापन गर्ने प्रशिक्षक तयार गरिसकिएको छ भने बराम र तिलुङ भाषाका प्रशिक्षकको खोजी भइरहेको जनाइएको छ ।
उहाँले ४५ वर्ष मुनिका इच्छुकले ती भाषा कक्षामा सहभागी हुन पाउने बताउँदै भाषा सिक्न सम्बन्धित भाषी नै हुनुपर्ने अनिवार्य नगरिएको बताउनुभयो । “भाषिक सम्पत्तिको सुरक्षा गर्न जुनसुकै भाषीले पनि भाषा कक्षामा सहभागी हुन सक्नेछन्” उहाँले भन्नुभयो ।

चार वर्षसम्म यस्तो कक्षा सञ्चालन गरिनेछ । चार चरण पूरा गरेकालाई कक्षा ३ को भाषिक क्षमता बराबर भएको मान्यता दिइनेछ । आयोगका प्रवक्ता भट्टराईले सबै चरण पूरा गरेकाले सम्बन्धित भाषा सहजै बोल्न र लेख्न सक्ने बताउँदै भन्नुभयो, “सहभागीलाई भाषाको विज्ञ वक्ताको प्रमाणपत्र दिइनेछ ।” चार वर्षमा ३६० घण्टा अध्ययन पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्न परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्