काठमाडौं, ७ असोज २०७५ । बलात्कारका घटनाका विषयमा सरकार गम्भीर नभएको भन्दै नेपाल महिला संघ उपत्यका समितिले संयुक्त रुपमा सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल महिला संघ (काठमाडौं, ललितपुर र भक्तपुर) समितिले संयुक्त ज्ञापन पत्र जारी गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गरेको हो ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कार पछिको हत्या लगायत देशका विभिन्न जिल्लामा बलात्कार, हत्या, हिंसा, अराजकता, दण्डहिनता र आकासिँदो महँगी विरुद्ध संघको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

‘८ महिनाका शिशुदेखि ७० वर्षसम्मका महिला माथि भएका बलात्कारका घटनामा वृद्धि भइरहँदा पनि सरकारको ध्यान नजानु दुर्भाग्यपूर्ण हो ।’ पत्रमा लेखिएको छ, ‘तसर्थ यस्ता जद्दन्य अपराधिक घटनाहरु भइरहँदा सरकार संवेदनशील नभएको हुँदा नेपाल महिला संघ उपत्यका समिति प्रमुख जिल्ला मार्फत सरकारको ध्यानाकर्षण गराउँदछ ।’

दिन दाहाडै हुने बलात्कार तथा हत्या रोक्न र दोषी पहिचान गर्न तथा आम नागरिकको सुरक्षा प्रत्याभूति गराउन उनीहरुले सरकारसँग माग गरेका छन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्