काठमाडौँ, २०७५ साल भाद्र २० गते वुधबार । पूर्वराजा ज्ञानेन्द्र शाहबाहेक पूर्व राजपरिवारका सबैजसो प्रौढ सदस्यहरु बिहीबार (भोली) पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको गाउँ जाने भएका छन् ।

पालुङटारस्थित भवानी उच्च मा.वि.को दुई तलाको आठ कोठे भवन हस्तान्तरणका लागि पूर्व राजपरिवार त्यसतर्फ जान लागेको हो । पालुङटार पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराईको गृह नगरपालिका हो ।

विद्यालय भवन हिमानी ट्रष्टको संयोजन र जापानको जोडो सु बुद्धिष्ट अर्गनाइजेशनको आर्थिक सहयोगमा निर्माण भएको हो । हिमानीले नै शिलान्यास गरेको विद्यालय भवनको निरीक्षणका लागि उनी गत माघ दोस्रो हप्ता पालुङटार पुगेकी थिइन् ।

भोलि हुने शिलान्यास कार्यक्रममा पूर्व बडामहारानी कोमल, पूर्व अधिराजकुमारी प्रेरणा शाह र पूर्व शाहज्यादी दिलाशा पनि जाँदैछन् । पूर्व युवराज पारशपनि भवन हस्तान्तरण कार्यक्रममा जाने प्रचार गरिएपनि उनी जाने नजाने टुङ्गो लागेको छैन ।

पछिल्लो समय पारश र हिमानीबीच सम्बन्धमा केही सुधार आएपनि उनीहरु सँगै यात्रा भने गर्ने गरेका छैनन् । विद्यालय हस्तान्तरण कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रपनि जाने तयारी भएपनि अन्तिम समयमा नजाने निर्णयमा पुगेका स्रोतले जनाएको छ ।

बि.स २०७२ बैशाख १२ गतेको भूकम्पले १८ कोठे बिद्यालय भवन भत्काएपछि हिमानी ट्रष्टले जोडो सु बुद्धिष्ट अर्गनाइजेशनको आर्थिक सहयोगमा भवन निर्माण गरेको हो । पहिलो चरणमा आठ कोठे भवन निर्माण र हस्तान्तरण गर्न लागेको ट्रष्टले दोस्रो चरणमा अर्काे आठ कोठे भवनपनि निर्माण गरिदिँदैछ ।

अपांगता भएकाहरुलाई पनि सहज रुपमा शौचालय जान सक्ने गरी भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवश चिन्तनले बताउनुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्