न्युजिल्याण्ड, एजेन्सी, श्रावण २० । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्न डेढ महिनाको छोरीसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नका लागि प्रधानमन्त्री कार्यालय पुगेकी छन् । प्रधानमन्त्री ज्यासिन्डा शनिबार डेढ महिनाको छोरीसहित राजधानी विलिङ्गटन विमानस्थलमा ओर्लिएकी हुन् ।

उनले ६ हप्ताको सुत्केरी बिदा लिएकी थिइन् । ज्यासिन्डाले केही दिनअघि आफ्नो बिदा सकिएको औपचारिक घोषणा गरेकी थिइन् । ३८ वर्षकी ज्यासिन्डाले गएको जुन २१ (असार ७ गते) पहिलो सन्तानको रुपमा छोरी जन्माएकी थिइन् ।

उनी सत्ताको नेतृत्व गरिरहेका बेला सन्तान जन्माउने विश्वको दोस्रो व्यक्ति हुन् । उनीभन्दा पहिले २८ वर्षअघि पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजीर भुट्टोले सन्तान जन्माएकी थिइन् ।

ज्यासिन्डाले अघिल्लो शनिबार फेसबुकमा भिडियो पोस्ट गर्दै आफू सुत्केरी बिदाबाट कार्यालय फर्केको पहिलो हप्ता गर्ने कामको योजना बारे बताएकी थिइन् ।

ज्यासिन्डा बिदामा रहेका बेला उपप्रधानमन्त्री विनस्टन पिटरले जिम्मेवारी सम्हालेका थिए । ज्यासिन्डा विवाहित होइनन् । तर उनी र उनका प्रेमी क्लार्के गेफोर्डको पहिलो सन्तानको रुपमा गएको जुन २१ मा छोरीको जन्म भएको हो ।

छोरीको नाम उनीहरुले निभ गेफोर्ड राखेका छन् । ज्यासिन्डाले बिदामा रहेका बेला पनि मन्त्रीपरिषदका कागजात अध्ययन गर्ने तथा महत्वपूर्ण विषयमा सल्लाह दिने गरेकी थिइन् ।

गएको अक्टोबरमा प्रधानमन्त्रीमा निर्वाचित भएकी ज्यासिन्डाले आफू गर्भवती रहेको कुरा गएको जनवरीमा बताएकी थिइन् । उनी सन् १८५६ पछि कम उमेरमा प्रधानमन्त्री बन्ने न्युजिल्याण्डको पहिलो व्यक्ति हुन् ।

ज्यासिन्डा लेबर पार्टी गएको सेप्टेम्बरमा भएको चुनावमा दोस्रो पार्टी भएको थियो । कुनै पनि पार्टीले बहुमत नल्याएकाले ज्यासिन्डा गठबन्धन बनाएर प्रधानमन्त्री बनेकी हुन् । उनी न्युजिल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुन् ।

ज्यासिन्डा काममा फर्किएपछि अब छोरीको स्याहार उनका पार्टनर (प्रेमी) गेफोर्डले गर्नेछन् । गेफोर्ड फुलटाइम फादर बन्ने छन् । ज्यासिन्डा गएको जुन १७ देखि बिदामा थिइन् । उनले आफू अरु सामान्य कामकाजी आमा जस्तै कामकाजी रहेको बताएकी छन् ।

प्रधानमन्त्री निवासलाई बनाईँदैछ शिशुमैत्री

राजधानी विलिङ्गटनमा रहेको प्रधानमन्त्रीको सरकारी निवासलाई पनि शिशुमैत्री बनाइने छ । अब केही दिन प्रधानमन्त्री निवासलाई शिशुमैत्री बनाइने र त्यसपछि आफूहरु त्यहाँ सर्ने प्रधानमन्त्री ज्यासिन्डाले बताएकी छन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री निवासमा यति सानो शिशु बस्न थालेको यो पहिलो पटक होला सायद ।’

ज्यासिन्डाले छोरी निभका लागि चाहिने फर्निचरहरु सबै सेकेण्ड ह्याण्ड प्रयोग गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रा साथीहरुले ज्यासिन्डाका लागि दिएका फर्निचरहरु प्रयोग गर्दैछौँ ।’

ज्यासिन्डा र उनका प्रेमी गेफोर्डले व्यक्तिगत जीवनलाई सकेसम्म गोप्य राख्ने प्रयास गरेका छन् । ज्यासिन्डा सोमबारदेखि औपचारिक रुपमा राजनीतिक जिम्मेवारीमा फर्किने छिन् ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्