बेइजिङमा ओली–सीबीच आधा घण्टा छुट्टै भेटवार्ता

नेपालको प्रधानमन्त्रीमा पाँच वर्षका लागि चयन भएकोमा केपी शर्मा ओलीलाई बधाई दिँदै चीनका राष्ट्रपति सी जिनफिङले चीन नेपाल सम्बन्ध अब नयाँ आधारमा अगाडि बढ्ने बताएका छन्।

 

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आधा घण्टा सानो प्रतिनिधिमण्डलसहित छुट्टै भेटवार्ता भएको थियो। भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार राष्ट्रपति सीले नेपालको सार्वभौमसत्ता, अखण्डतालाई सम्मान गर्दै सबै प्रकारको सहयोग उपलब्ध गराउने बताए।

चीनका राष्ट्रपति सीले अधिकारीहरूलाई केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययन अध्ययन छिटो सक्न निर्देशन दिइसकेको बताएको मन्त्री ज्ञवालीले सञ्चारकर्मीसँग बताए। चिनियाँ राष्ट्रपति सीले चिनियाँ रेल केरुङ हुँदै चाँडै काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएको मन्त्री ज्ञवालीले खुलाए।

‘नेपालको प्राथमिकता अनुसार सहयोग गर्न चीन तयार छ’, राष्ट्रपति सीलाई उद्धृत गरेपछि मन्त्री ज्ञवालीले थपे, ‘हाम्रा महत्वपूर्ण पूर्वाधार रेलमार्ग नै नै हो, चीनको अनुदान र हाम्रो आफ्नो समेत लगानीमा हामी क्रस बोर्डर रेलमार्ग बनाउन चाहन्छौं।’

 

बुधबार दिउँसो ग्रेट हल अफ पिपुलमा छुट्टै भेटपछि ४५ मिनेट दुई देशका प्रतिनिधिमण्डलस्तरीय प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको छ।

राष्ट्रपति सीले असल छिमेकीका रुपमा नेपाललाई चीनले सधैँ सम्मान र सहयोग गर्दै आएको स्मरण गरे।  प्रधानमन्त्री ओलीले असल छिमेकीका रुपमा चीनको साथ र सहयोग पाएको भन्दै आर्थिक विकास र समृद्धिका लागि आफूहरु सधैँ चीनसँग मिलेर काम गर्ने बताए।

नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र त्यसलाई व्यावहारिकरुपमा नै पुष्टि गर्दै आएको उल्लेख गर्दै चीनले गरेको आर्थिक र प्राविधिक विकासबाट लाभ हासिल गर्न नेपाल तत्पर रहेको ओलीले बताए।

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्