काठमाडौं, २२ भाद्र २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा। रामशरण महतले वर्तमान सरकार हावादारी प्रचारमा केन्द्रित भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा। महतले वर्तमान सरकारले आकाशे र उडन्ते कुरा गरेर समय व्यतित गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, “सरकारले पानीजहाज, रेल ल्याउने लगायतका हावादारी कुरा गरिरहेको छ । कहिले १५ हजार अट्ने सम्मेलन केन्द्र बनाउँछु भन्छ, कहिले के भन्छ ? कहिले प्रधानमन्त्री निवास करोडौं खर्चिएर नयाँ बनाउने कुरा त, कहिले राष्ट्रपति निवासलाई फराकिलो बनाउने कुरा भएका छन् ।”

महतले सरकारले उपभोग्य कुरामा बढी खर्च गरेको गुनासो पोखे ।

सरकारले वास्तविक आवश्यकता के हो भनेर खुट्याउन नसकेको र कार्यक्रमको प्राथमिकीकरण नै गर्न नसकेको उनको आरोप छ ।

महतले अहिलेपनि काठमाडौंबाट धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जाने सडकहरु अलपत्र अवस्थामा रहेको सुनाए । उनले भने, “ललितपुरका कतिपय सडकका समस्या अहिले पनि समाधान भएकै छैनन् ।”

उनले यातायातमा अहिले भएकै पूर्वाधारलाई स्तरोन्नती गर्नुपर्नेमा जोड दिए । महतले १२ महिनै सुचारु हुने सडक बनाउनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले अहिले विश्वका जुनसुकै मुलकको पनि मूल एजेण्डा आर्थिक विकास र समृद्धि भएको सुनाउँदै नेपालले पनि आर्थिक एजेण्डालाई आत्मसात गर्नु खुशीको कुरा भएको टिप्पणी गरे । तर, समृद्धि हाँसिल गर्न त्यति सजिलो नभएको महतको भनाई छ ।

उनले भने, “आर्थिक विकास र समृद्धि हासिल त कठिन एक्सरसाईजबाट मात्रै सम्भव हुन्छ । आफ्नो साधन र स्रोतलाई सही ढंगले उपयोग गर्नुपर्छ । व्यवस्थापन र प्रशासकीय क्षमता अभिवृद्धि गर्नुपर्छ । पुँजी लगानीमा ध्यान दिनुपर्छ ।”

अहिले देशमा भ्रष्टाचार, लुटतन्त्र र विभिन्न स्क्याण्डलका बारेमा कुरा उठेको पनि उनले सुनाए । उनले भने, “संसदमा पनि यी विषयहरु उठेका छन् । हाम्रो पार्टी सडकमा उत्रिनुपर्ने आवश्यकता छ ।”

महतले देशमा भएका तीन तहका सरकारबीच समन्वय र सहकार्य नभएको पनि गुनासो पोखे ।

उनले भने, “अहिले देशभरि ७६१ सरकार छन् । तर, उनीहरुको बीचमा अधिकार र साधन स्रोतको बाँडफाँटको कारणले राम्रो सम्बन्ध छैन । तीनै तहबीच अहिले प्रशस्त विवाद छन् । अधिकारको लागि तँछाडमछाँडको अवस्था छ । उनीहरुबीच अधिकार र शक्ति विभाजनको नाममा अहिलेपनि विवाद रहेको प्रष्ट छ ।”

संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय कानूनहरु अझैपनि संसदबाट पारित नभएको उनको अर्को गुनासो छ ।

त्यस्तै, संघीयता कार्यान्वयनको लागि आवश्यक कतिपय संरचनाहरु अझै बन्न नसकेको महतको आरोप छ | उनले भने, “अझै पनि तीन तहका सरकारका क्षमता अभिवृद्धि भएको छैन । तीन तहका सरकारको क्षमता अभिवृद्धिमा ध्यान पुगेको छैन । विकास निर्माणका कामहरु अवरुद्ध भएका छन् ।”

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्