गोरखा, २१ भाद्र २०७६ । मर्स्याङदी गाउँपालिका ३ खुदीबजारबाट प्रहरीले ३३ किलो अवैध निरमसीसहित २ जनालाई पक्राउ गरेको छ । लेकमा पाइने निरमसी लोपोन्मुख एवं बहुमुल्य जडिबुटीको रुपमा लिइन्छ ।

गोरखाको सुलिकोट गाउँपालिका १ बारपाकका ४८ वर्षीय पूर्णबहादुर गुरुङ र ३७ वर्षीय छमबहादुर गुरुङलाई पक्राउ गरिएको डीएसपी रविन्द्रमान गुरुङले बताउनुभयो। उनीहरुलाई बुधबार साँझ ६ बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको उहाँले बताउनुभयो।

शंका लागेर चेकजाँच गर्दा भेटिएको निरमसी जोख्दा पूर्णबहादुरले बोकोको झोलामा ११ किलो र छमबहादुरले बोकेको झोलामा २२ किलो निरमसी फेला परेको उहाँले जानकारी दिनुभयो ।डीएसपी गुरुङका अनुसार यसअघि निरमसी यतिका मात्रामा फेला परेका थिएनन्। उनीहरुले बिना पूर्जी अवैध रुपमा निरमसी संकलन गरेको देखिएको छ। मर्स्याङदी गाउँपालिका १ र २ को घनपोखराको लेकमा संकलन गरी ल्याएको उनीहरुले सोधपुछमा बताएको प्रहरीले जनाएको छ।

करिब १ महिनासम्म लेकमा बसेर संकलन गरेर ल्याएको निरमसी उनीहरुले विक्री गर्न बेंसीसहर लैजाने क्रममा प्रहरीले फेला परेको हो।सुक्दै गरेको निरमसी पुरै सुकेपछि आधा तौल घट्ने प्रहरी बताउँछ। सुकेको निरमसीलाई उनीहरुले ५ हजारदेखि ६ हजारसम्म विक्री गर्दै आएको प्रहरीलाई बताएका छन्। उनीहरुले घनपोखराको जंगलबाट संकलन गरेर ल्याएको भनेको र घनपोखरा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्ने भएकाले उनीहरुलाई कानुन बमोजिम कारबाहीको लागि एक्यापको जिम्मा लगाइने डीएसपी गुरुङको भनाई छ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्