२०७६ साल भाद्र १७ गते मंगलबार

बालविवाह

बालविवाह मानव अधिकार विरोधी कार्य हो । बालविवाह सामाजिक कुरीति पनि हो । उमेर नपुगी विवाह गर्दा बालबालिकाको मौलिक हक हनन हुने गर्दछ । नेपालको कानुन अनुसार २० वर्ष नपुगी हुने विवाहलाई बालविवाह भनिन्छ ।

नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बाल अधिकार हननको बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । नेपालमा मात्र होइन, विश्वमा नै बालविवाह कुरीतिको रुपमा रहेको छ । अझ अविकसित मुलुकहरुमा त बालविवाह अन्त्य चुनौतीको रुपमा रहेको छ ।

नेपाल सरकारले सन् २०३० सम्म बालविवाह अन्त्य गर्न राष्ट्रिय रणनीति बनाइ कार्यान्वयनमा पनि ल्याएको छ । वि। स। २०६८ सालको जनगणना अनुसार नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको २० वर्ष नपुग्दै विवाह भएको देखिएको छ ।

त्यसैगरी, नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ ले नेपालमा २० वर्ष देखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्न अगावै भएको उल्लेख गरेको छ । युनिसेफले प्रकाशित गरेको सन् २०१६ को तथ्यांक अनुसार नेपालमा ३७ प्रतिशत बालिका १८ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् ।

वालविवाहका कारण

बाल विवाह उच्च रहेका मुलुकहरुमध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एसियामा बंगलादेश पहिलो, भारत दोस्रो र नेपाल तेस्रो स्थानमा रहेको छ । बालकको तुलनामा बालिकाको विवाह उमेर नपुगी हुने गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्ययनले देखाएको छ ।

बालविवाह हुने कारणहरु निम्नअनुसार छन्

महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता

धार्मिक अन्धविश्वास र परम्परा

लैंगिक विभेद

गरीबी

अशिक्षा

असुरक्षा

बालविवाहका प्रभाव

बालविवाहले बालबालिकाहरूको आधारभूत अधिकारबाट बञ्चित गराउँछ । शिक्षा र स्वास्थ्यमा त झन् बढी गम्भीर असर पु¥याउँदछ । आफ्नो भविष्यको छनोट आफैँ गर्ने निर्णय लिने अवसरबाट पनि बञ्चित गराउँदछ । अझ बालिकाहरुको हकमा त कलिलै उमेरमा पारिवारिक जिम्मेवारीको बोझ थपिँदा लैंगिक हिंसा, यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरुबाट प्रताडित हुनुपर्दछ ।

नेपालको प्रतिबद्धता

नेपालले विश्वव्यापी स्तरमा बाल विवाहलाई सहस्राब्दी विकास लक्ष्यको प्राप्तिका लागि एक बाधकको रुपमा पहिचान गरेको छ । साथै, दिगो विकासका लक्ष्यहरूकोकार्यसूची (क्म्न्क)(२०१६—२०३०) मा बाल विवाह अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ । नेपालले बालअधिकार सम्बन्धी महासन्धि, १९८९, महिलामाथि हुने सबै प्रकारका विभेदहरूको अन्त्य गर्ने महासन्धि १९७९, नागरिक तथा राजनैतिक अधिकारका लागि अन्तर्राष्ट्रिय आलेख १९६६ आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय आलेख, १९६६, यातना विरुद्धको महासन्धि, १९८४ जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले पारित गरेको कार्ययोजना, १९९४, चौथो विश्व महिला सम्मेलनबाट पारित बेइजिङ्ग घोषणा र सम्बद्ध कार्ययोजना र सार्क लगायत अन्र्तराष्ट्रिय तथा क्षेत्रीय स्तरमा बाल अधिकारलाई प्रबद्र्धन गर्ने विभिन्न अन्तर्राष्ट्रिय महासन्धि तथा ईच्छाधीन आलेखहरु मार्फत नागरिकहरुको आधारभूत अधिकारहरु विशेषत : बालअधिकार संरक्षणमा प्रतिबद्धता जाहेर गरेको छ ।

बालविवाह सम्बन्धी कसूर

संवैधानिक इतिहासमा पहिलोपटक नेपालको संविधानको मौलिक हकमा बालविवाहलाई बन्देज लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ मा बाल विवाह गर्ने व्यक्तिको उमेर बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन । विवाह गर्नेको उमेर बीस वर्ष नभए

विवाह स्वतः बदर हुनेछ भने कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

नाराहरु

कसैले बिहे गर्ने उमेर सोधे

२० वर्षअघि हुँदैन भन्दिए

 

२० नपुगी विवाह

कानुनले दिन्छ सजाय

 

विवाह २० वर्षअघि

सुरु हुन्छ जीवनको बर्बादी

 

मेरो परिवारको प्रतिबद्धता

बालविवाह रोक्न ऐक्यबद्धता

 

 

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्