काठमाडौं , ५ भाद्र २०७६ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले ३३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जनजागरण अभियानको तयारी गरेकोे छ ।

कांग्रेसले ७७ जिल्ला, सबै प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तहमा जागरण गर्ने लक्ष्यअन्तर्गत २४ भदौबाट १० असोजसम्म प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा जागरणको तयारी गरेको हो ।

यसअघि कांग्रेसले ७७ वटै जिल्लामा पहिलो चरणअन्तर्गत २५ वैशाखबाट २५ जेठसम्म एकमहिने जागरण चलाएको थियो । दोस्रो चरणअन्तर्गत ३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा अभियान आयोजना गरिने कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।

‘३३० वटै प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा दोस्रो चरणको जागरण हुँदै छ, जागरणमा पदाधिकारीसहित केन्द्रीय तहका नेता, सांसद, पूर्वसांसद तथा पूर्वकेन्द्रीय सदस्यहरू प्रतिनिधिका रूपमा सहभागी हुनेछन्,’ सहमहामन्त्री महतले भन्नुभयो ।

कांग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्ध गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर जनजागरण अभियान सुरु गरेको हो । कांग्रेसले तेस्रो चरणको अभियान भने ७ पुसदेखि १६ गतेसम्म अर्थात् १० दिन ७५३ वटै स्थानीय तहमा जनजागरण अभियान गर्ने लक्ष्य लिएको छ ।

जागरण अभियानमार्फत कांग्रेसले महासमितिबाट पारित विधानसहितका दस्तावेजबारे कार्यकर्तालाई सुसूचित गर्ने, नेता कार्यकर्ताबीच एकता बढोत्तरी गर्ने, जागरण अभिवृद्धि गर्ने, कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धि जनताबीच सम्प्रेषण गर्ने, संविधान संशोधनबारे जनमत सिर्जना गर्नेलगायतका उद्देश्य लिएको छ ।

कांग्रेसले पहिलो चरणको जागरण अभियानबाट पार्टीका कार्यक्रमलाई सभ्य बनाउन पार्टीका गतिविधिमा बोल्ने वक्तालाई समेत नियन्त्रणको नीति लिएको छ । कांग्रेसले पहिलो चरणको जागरणबाटै प्रमुख वक्ता, महिला वक्ता र कार्यक्रमका सभापतिलाई मात्रै वक्ताका रूपमा राख्ने रणनीति लिएको हो ।

यसैगरी, देशैभर हुने जागरण कार्यक्रमका लागि ब्यानर तथा पर्चासमेत एकै प्रकारको प्रयोग गरिने नीति कांग्रेसले लिएको छ ।

यस्तै, कांग्रेसले पार्टीको कार्यक्रममा ‘ब्याच’ र ‘माला’लाई समेत प्रतिबन्ध लगाएको छ । पार्टीका कार्यक्रममा अनावश्यक रूपमा समय खर्च हुने भन्दै कांग्रेसले कार्यक्रमबाट ‘ब्याच’ र ‘माला’मा समेत प्रतिबन्ध लगाएको हो ।

कांग्रेसले जनजागरण अभियानका क्रममा हुने कार्यकममा दीर्घजीवी बिरुवा रोपेर र दीप प्रज्ज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नेछ ।

गत निर्वाचनमा पार्टीले बेहोरेको हारपछि कार्यकर्तामा देखिएको निराशालाई उच्च पार्नसमेत जागरण अभियान फलदायी हुने लक्ष्य कांग्रेसको छ । कांग्रेसले अभियानका लागि आफ्ना भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि खटाइसकेको छ । कांग्रेसले यस अभियानमार्फत २००७ सालदेखि २०१७, २०१७ देखि २०३६ र २०३६ देखि २०४६ सम्मका विभिन्न चरणका आन्दोलनमा सहभागी भएका आफ्ना नेताहरूको समेत खोजी गर्ने लक्ष्य लिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्