बैतडी, ४ भाद्र २०७६ । सुदूरपश्चिम प्रदेशको मुख्य पर्वको रुपमा रहेको गौरा पर्व मंगलवार देखि सुरु भएको छ । पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि शिवको प्राप्ति भएको विश्वासका आधारमा यो पर्व परापुर्वकाल देखि सुदूरपश्चिममा मनाईदै आएको छ । सुदूरपश्चिम प्रदेशका नागरिक जहाँ जहाँ फैलिएका छन त्यहाँ पनि गौरा पर्व मनाउने गरिन्छ ।

गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँ प्रदेशमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । गौरा पर्व भाद्र शुक्लको पञ्चमी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरिन्छ । गौरा पर्वको पहिलो दिन महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

यहाँका महिलाले गहुँ, केराउ, गहत, मास र गुरुस मिसाएर तामाका भाडामा भिजाउँछन् । यी पाँच अन्नलाई बिरुडा भनिन्छ ।

महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धुन्छन । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठमन्दिरमा डालोमा स्थापना गर्ने चलन छ ।

गौरा भित्र्याएर पुजा अर्चना गरि महिलाहरुले दुबधागो चढाउने गर्छन । गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौराखलो गौरा मनाउने स्थल मा फाग गाएर पूजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देविको पुजा गर्ने परम्परा रहेको पुरोहित बताउँछन् । सोहि दिन महिलाले प्रशादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुजने र निधारमा बिरुडा थापिदिने गर्छन । महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि पूजाआजा गर्ने मान्यता छ । गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो ।

गौरा पर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ।

बिरुडा भिजाएपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिएको पण्डित दयाकृष्ण पन्तले बताउनुभयो । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।यतिबेला सुदूरपश्चिममा चहलपहल र रौनक समेत बढेकोे छ । सुदूरपश्चिमेलीहरुले दशैं भन्दापनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् ।

त्यसैले गौरामा एकै छिन भएपनि डेउडामा रमाउन परदेशिएकाहरु पनि घरपरिवार सम्झिएर फर्किने गर्छन । यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरुबाट गौराका लागि घर फर्किएका छन् । गौरामा विवाहित चेलीहरु पनि माइत आउने चलन छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत र्पुयाउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

 

 

 

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्