गोरखा, १ भाद्र २०७६ । गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको संयुक्त आयोजनामा गोरखाको पर्यटन प्रबर्द्धन गर्नको लागि ३८ कि.मि. लामो “लिगलिगकोट – सिरानचोककोट- गोरखा दरवार म्याराथुन दौड २०७६” को आयोजना गरिने भएको छ ।

“नेपालको उत्पत्तिदेखि जगसम्म” को अवधारणामा भाद्र २५ गते ” लिगलिगकोट-सिरानचोककोट-गोरखा दरवार” गर्न लागिएको हो ।

गोरखाको ऐतिहासिक, धार्मिक, संस्कृतिक महत्व बारे जानकारी गराउनु हुँदै ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पुर्याउन उदेश्यका साथ म्याराथुन आयोजना गर्न लागिएको हो ।

पालुङ्गटार नगरपालिका वडा नं. २, लिगलिगकोट शुरु भई गोरखा नगरपालिका वडा नं ६, गोरखा दरवारमा पुगेर दौड अन्त्य हुने जनाइएको छ । सिरानचोक गाउँपालिका वडा नं. ५, चित्रेपोखरीलाई टर्निङ प्वाइन्ट बनाइएको छ । दौडका लागि दर्ता शुल्क २ सय तोकिएको छ ।

म्याराथुन दौडमा प्रथम हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख र तेश्रो हुनेलाई ७५ हजारका साथै मेडल र प्रमाणपत्र दिइने जनाईएको छ। त्यस्तैगरी दौडमा चौंथो देखि दशौँसम्म हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ। चौथो, पाँचौ, छैटौ, सातौँ, आठौ, नवौ र दशौँ हुनेलाई क्रमश पचास हजार, पैतिस हजार, तीस हजार, पच्चीस हजार, बीस हजार, पन्ध्र हजार, दस हजार नगद राशी सहित मेडल तथा प्रमाणपत्र दिइने छ ।

भदौ १ अर्थात आजबाट नै दरखास्त आवेदन खुल्ला गरिएको छ भने दरखास्त दिने अन्तिम मिति भदौ २३ गते रहेको छ ।

भदौ २४ गतेसम्म सहभागी खेलाडीहरु लिगलिगकोट आइपुग्ने छ भने २५ गते विहान ६ बजेदेखि दौड संचालन हुने जनाइएको छ ।

२५ गते नै समापन तथा पुरस्कार वितरण कार्यक्रम हुनेछ । सम्पर्क कार्यालयको रुपमा गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, सिरानचोक गाँउपालिका र नेपाली सेना रहेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्