काठमाडौं, ३२ साउन २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको विविधतायुक्त जातीय संस्कृति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

नेवा खल कास्कीद्वारा महेन्द्रपुलमा आयोजित तायाः मचा नृत्य प्रतियोगिताको उद्घाटन गर्दै उनले सदियौँदेखि बस्दै आएका जातजाति सम्वद्ध मौलिक संस्कृति मुलुकका अमूल्य सम्पत्ति भएको बताए । संस्कृतिको जगेर्नाले इतिहास, संस्कार एवम संस्कृतिलाई जीवन्त राख्न सकिने उनको भनाइ थियो । “यसको संरक्षण हामी सबैको साझा दायित्व हो”, उनले भने ।

विभिन्न चाडपर्व, संस्कृति, वेषभूषा, धार्मिक मेला, महोत्सव र सीपमा नेवार जाति समृद्ध रहेको मुख्यमन्त्री गुरुङले बताए । मौलिक पर्व तथा संस्कृतिले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने उनले विश्वास व्यक्त गरे ।

मुलुकको विविध संस्कृति र सीपलाई जगेर्ना गर्दै आधुनिकतामा विशिष्टिकरण गरी नयाँ पुस्तालाई हस्तान्तरण गरिनुपर्नेमा उनले जोड दिए ।

नेवा खल कास्कीका उपाध्यक्ष एवम संस्कृतिविद् तीर्थ श्रेष्ठले रञ्जन लिपी नेपालको संस्कृति भएकाले यसको जगेर्ना गर्नका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे । रासस

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्