काठमाडौं, २६ साउन २०७६ । लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेजीको माग राखेर प्रदर्शनमा उत्रिएका ‘आरक्षण बचाउ आन्दोलन’का अभियन्तामाथि प्रहरीले बल प्रयोग गरेको छ।

काठमाडौंको भद्रकाली हुँदै सिंहदरबारतर्फ अघि बढेका अभियन्तामाथि दमन गरी १४ जनालाई गिरफ्तार गरेको हो। प्रदर्शनमा आदिबासी, दलित, जनजाति, मधेशी, पिछडिएको क्षेत्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए।

प्रहरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराक, उपाध्यक्ष गोविन्द छन्त्यालसहित अभियन्ता थाङसाङ लावती, भक्त विश्वकर्मा, उस्मार सुनार, सहेक विश्वकर्मा, सुखवीर थामी, कासिन्द्र यादव, कल्पना सुनार, राकेश राई, बाङजु वाइबा तामाङ, दलमर्दन कामी र ससिन थारुलाई पक्राउ गरेको हो।

पक्राउ परेका अभियन्तालाई नेपाल पुलिस क्लबमा राखिएको छ।

यसैबीच, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले प्रहरीको दमनको बाबजुद आरक्षणका लागि जारी आन्दोलन नरोकिने प्रष्ट पारेका छन्।

‘संविधानमा हाम्रो घाटी काटिएको छ, लोक सेवा आयोगको विज्ञापनले आरक्षणको व्यवस्था नामेट पार्न खोज्यो, त्यसैले अधिकार प्राप्तका लागि लडाइँ जारी रहन्छ,’ मिराकले भने ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्