काठमाडौँ, २०७६ साल साउन २४ गते शुक्रबार । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आज विश्वभर आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाउँदै छन् ।

संयुक्त राष्ट्रसङ्घले विश्व आदिवासी दिवसका लागि यस वर्ष ‘आदिवासीका भाषा’ नारा तय गरेको छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५ औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौ ’ भन्ने नारा तय गरेका छन् ।

यस दिवसलाई विश्वभरकै आदिवासीले आफ्नो हक अधिकार स्थापित गर्ने अवसरका रूपमा ग्रहण गरी सांस्कृतिक कार्यक्रमसहित हर्ष र उल्लासका साथ मनाउँदै आएका छन् । यस वर्ष नेपालका आदिवासी जनजातिले भने आफ्नो अधिकार प्राप्तिका लागि आन्दोलनकै रूपमा यो दिवस मनाउने जानकारी नेताहरूले दिनुभएको छ ।

आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामले हालै सरकारले जारी गरेको स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन समावेशी नभएको, गुठी विधेयकमार्फत आदिवासी पुर्खाले धर्म, संस्कृति बचाउन युगौँदेखि गरेको अभ्यासलाई बिथोल्न थालेको भन्दै रोष प्रकट गर्नुभयो ।

उहाँले विगत वर्षहरूमा दिवसको सन्दर्भमा महासङ्घले १५ दिने कार्यक्रम तय गरी आदिवासीका विविध पक्षबारे अन्तरक्रिया, सांस्कृतिक, भेषभूषा, खानाका प्रदर्शनीसहित हर्षोल्लासपूर्वक मनाइन्थ्यो तर यस वर्ष फरक तरिकाले मनाइने बताउनुभयो । उहाँले यस वर्ष आदिवासीलगायत दलित, महिला, मधेसी, पिछडिएका वर्गलाई राज्यले विभेद गरेको महसुस भइरहेको भन्दै दुःखसमेत व्यक्त गर्नुभयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्