काठमाडौं, २० साउन २०७६ । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ ।

बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका थिए । सङ्घले आइतबार रातिदेखि नै सुन्दरीजलमा भजन कीर्तनसहित विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा पूर्वउपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले धार्मिक, सांस्कृतिक, प्राकृतिक र राजनीतिक दृष्टिले महत्वपूर्ण सुन्दरीजल क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।

मानव कल्याणका लागि अन्यायका विरुद्ध शिवपुरीको यो क्षेत्रमा शिव पार्वतीले ध्यान तपस्या गर्नुभएजस्तै पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, नेता गणेशमान सिंह, महेन्द्रनारायण निधिले यहीँको जेलमा बसेर जनअधिकारका लागि काम गरेको उनको भनाई थियो । यस्तो पवित्रस्थलमा आउने जीर्ण सडकमा सरकारको आँखा पुग्न नसकेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसको उपसभापतिसमेत रहेका नेता निधिले भगवान् शिवको त्रिनेत्रले सरकारको आँखा खोलोस् भनी कामना गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले सुन्दरीजलबाट शुद्ध जल लिई बोलबम यात्रा गरेर पशुपतिनाथ मन्दिरमा चढाउन चाहने भक्तजनका लागि विशेष व्यवस्था गरिएको बताए । बोलबम यात्रीलाई पशुपति मूल मन्दिरमा प्रवेश गरी जल चढाउन बेग्लै लामको व्यवस्था गरिएको उनको भनाई थियो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले चालू आर्थिक वर्षमा सुन्दरीजलमा बोलबम धाम निर्माण गर्न एक करोड बजेट विनियोजन गरिएको जानकारी दिए । धामका लागि ४६ रोपनी जग्गाको व्यवस्थासमेत नगरपालिकाले गरिदिएको बताए ।

अर्को वर्षको बोलबम यात्रा बेला धाम एवं सुन्दरीजल आउने सडक पनि बनिसक्ने नगर प्रमुख चालिसेको भनाइ थियो । सङ्घका अध्यक्ष तुलसी रौनियारले भारतको बाबाधाममा हुने बोलबम यात्रामा भारतीय सरकारले सबै व्यवस्था गरिदिने गरेको उल्लेख गर्दै नेपालमा भने ४४ वटा उपसमिति गठन गरेर रु ३२ लाख चन्दा उठाउनुपरेको गुनासो गरेका थिए ।

विसं २०४५/२०४६ तिर सीमित तराईवासीले मात्र सुन्दरीजलबाट पशुपतिनाथ जल लगेर चढाउँथे । हाल त्यो सङ्ख्या सयौँ गुणा बढिसकेको छ । बोलबम यात्राले सुन्दरीजल क्षेत्रको व्यापार व्यवसायमा पनि सकारात्मक प्रभाव पारेको छ । साउन महीनामा धेरै व्यापार हुने गरेको यहाँका होटल व्यवसायी गौतम श्रेष्ठले बताए ।

पशुपतिमा बिहानैदेखि भीड

साउन महीनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको कोषका सदस्य सचिव ढकालले जानकारी दिए ।

सोमबार विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

यसैगरी पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्